Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


रामकोट क्षेत्रमा भू-माफियाको रजगज ! (भिडियाे रिपोर्ट)

स्थानीय जनप्रतिनिधि र नियामक निकाय भने मौन

572
Shares

काठमाडाैं। काठमाडौंको नागार्जुन नगरपालिका-६, रामकोट क्षेत्रमा पछिल्लो समय भूमाफियाहरुको गतिविधि तीव्र बन्दै गएको छ।

सार्वजनिक जग्गा र राजकुलो समेत मिचेर भू–माफियाहरुले सडक बनाएको स्थानीयहरुले आरोप लगाएका हुन् । स्थानीयहरु सार्वजनिक जग्गा हडप्ने धन्दामा रोक लगाउन माग गर्दै नियामक निकायमा धाइरहे पनि सुनुवाई भने हुन सकेको छैन।

काठमाडौंको रामकोट क्षेत्रको यो घट्ना जनप्रतिनिधि र प्रशासनले हस्तक्षेप नगर्दा भुमाफियाले कतिसम्म बदमासी गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण हो । पछिल्लो समय मुलुकमा सार्वजनिक जग्गासमेत कब्जा गर्ने प्रवृत्ति, चलनचल्तीका बाटो हडप्ने र सरकारी निकायले रोक लगाएको क्षेत्रमै चलखेल बढ्दै गईरहेको रुपमा पनि यसलाई लिन सकिन्छ। नागार्जुन नगरपालिका-६, रामकोटमा राजकुलो भएको ठाउँमा भूमाफियाले डोजर चलाएर घर, गोदाम र निजी बाटो बनाएको स्थानीयले बताएका छन् ।

सोही क्षेत्रमा रहेको २०–२५ रोपनी जग्गामा भू-माफियाले आफूखुसी कब्जा गरेको स्थानीयहरुको दावी छ।राजकुलो मिचिंदा खेतीपातीमा पानीको गम्भीर अभाव देखिनुका साथै वर्षायाममा डुबानको जोखिम समेत बढेको उनीहरुको गुनासो छ। पटक-पटक नगरपालिकामा उजुरी दिए पनि प्रभावशाली व्यक्तिहरूको संरक्षणका कारण स्थानीयको उजुरीको सुनुवाई नभएको पाएको स्थानीय अमर गौतमले बताउनुभयाे।

कतिसम्म भने भूमाफियाले सरकारी जग्गामा समेत बस्ती बसालेर धन्दा चलाइरहेको स्थानीयहरुले बताएका छन् । भूमाफियाले स्थानीयको अनुमति बेगर यस्तो प्लानिङ गरेको पनि खुलेको हाे । भूमाफियाले राजकुलो समेत निजी जग्गामा मिलाएर जग्गा बिक्री गरेको पनि स्थानीयले बताएका छन् । यो विषय बाहिर आएपछि हामीले नापी कार्यालय कलंकी, नागार्जुन नगरपालिका-६ को कार्यालयमा समेत बुझ्ने प्रयास गर्दा नापी कार्यालयले आधिकारिक नक्सालाई नै प्राथमिकता दिने आश्वासन दिएको नापी कार्यालय कलंकीका टोली प्रमुख योगेन्द्रकुमार यादवले बताउनुभयाे।

सरकारी स्वामित्वमा रहेका केही क्षेत्रहरूमा समेत भूमाफियाले टहरा निर्माण गरी सुकुम्बासी बस्ती बसाल्ने काम गरिरहेको देखिन्छ । त्यति मात्रै होइन, धेरै स्थानमा वास्तविक जग्गाधनीलाई जानकारी नदिइ भूमाफियाले जग्गा खण्ड–खण्ड पारी प्लटिङ गरेको, सडक काटेकोसमेत स्थानीयको दावी छ। स्थानीय निकायले यो विषयमा निवेदन समेत दर्ता गर्न नमानेको उनीहरुले बताएका हुन् । भूमाफियाहरुले स्थानीय सरकारको मिलेमतोमा राजकुलोसमेत मिचेर सडक बनाउने गतिविधि अघि बढाएको विषयमा नागार्जुन नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्रराज गिरीले भने अस्वीकार गर्नुभएकाे छ।

स्थानीयवासीले नियामक निकायसंग यस्ता गतिविधि तत्काल बन्द गराउन माग गरेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण, राजकुलो र ऐतिहासिक संरचनाको संरक्षण लगायतका माग राज्यसामु राखेका हुन् । तर, स्थानिय जनप्रतिनिधि र नियामक निकायले स्थानीयको मागको सम्बोधन नगर्दा थप आशंका उब्जिएको छ।

भिडियाे रिपोर्ट: