Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


ओलीले महाविधेशन पञ्चायतको गाउँ फर्क शैलीमा गर्न खोजेकाे उपाध्यक्ष पाण्डेकाे आराेप

ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट

286
Shares

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्माओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाउनुभएको छ।

नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई साेमबार सम्बाेधन गर्दै उहाँले यस्तो आराेप लगाउनुभएको हो। उहाँका अनुसार २०३२ सालमा पंचायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि गाउँ फर्कले जसलाई टिकट दिन्छ, सोही व्यक्ति मात्रै पञ्च भएर निर्वाचन लड्न पाउँथे । सोही व्यवस्थलाई ओलीले अहिले पार्टीमा लागू गर्नुभएको उहाँको आरोप छ ।

उपाध्यक्ष पाण्डेले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट आएको बताउनुभयो । वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सीमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको उहाँकाे दावी छ। उहाँले ओलीकै नेतृत्वमा ७० वर्षे उमेरहद र दुई पटक भन्दा पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था गरिएको स्मरण समेत गर्नुभयो । आठौं महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको लोकतान्त्रिक नेतृत्व विधि पछि ९ औंसम्म चलेको उहाँको भनाइ छ। १० औं महाधिवेशनमा भने पहिला सूची पास गर्ने र सूचीमा रहेका मात्र उम्मेदवार बन्न पाउने भन्ने प्रावधान ल्याइएको र ११ औं महाधिवेशनमा पनि त्यहि प्रक्रिया दोहोर्‍याउन खोजेको आरोप लगाउनुभयो।

नेताले चिनेका व्यक्तिलाई मात्र उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने उहाँले बताउनुभयो । पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा नवपुस्ता र जनतामाझ एमाले खुम्चिदै गएको उल्लेख गर्नुभयो । नेतृत्व चयनमा प्रतिस्पर्धा नहुने र माथिबाट तकिएको लिष्टमा नेतृत्व चयन हुने प्रचलनमा आएपछि पार्टीप्रति आकर्षण घटिरहेको उहाँको दावी छ। चुनाव नहुने, प्रतिष्पर्धा नहुने, माथिबाट लिष्ट बेचिने पार्टीमा किन आउने भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको उपाध्यक्ष पाण्डेले बताउनुभयो।

उपाध्यक्ष पाण्डेले कानूनमा नै राजनितिक दलमा एक पटक भन्दा बढी नेतृत्व गर्न नपाउनेगरी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पुरानामा मात्रै नभएर नयाँ राजनितिक दलमा पनि नेतृत्व परिवर्तनमा समस्या देखिएको बताउनुभएकाे छ।