Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


एनपीएल क्रिकेटमा कर्णाली याक्स विजयी

साविक विजेता जनकपुर बोल्ट्स भने ३ रनले पराजित

559
Shares

काठमाडौं। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्स विजयी भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ सम्पन्न भएकाे लिग चरणको अन्तिम खेलमा कर्णालीले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेकाे हाे। जितका लागि १ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रनमा समेटियो।

जनकपुरका लागि सन्जय कृष्णमूर्तिले सर्वाधिक ५१ रन बनाएका थिए । संगीत कोरेले २५, कप्तान जोन निकोल लफ्टी इटोनले १३ र माज सदाकतले १२ रन बनाएका हुन् । बलिङमा कर्णालीका विलियम वसिस्टोले दुई तथा मार्क वाट, पवन सरार्फ, सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो । वसिस्टो प्लेयर अफ दि म्याच बन्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । कर्णालीका लागि इमरन शेखले ३३ रन बनाएका थिए।

त्यस्तै, गुल्शन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पान्चलले १६, विलियम वसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाएका हुन् । बलिङमा जनकपुरका ललित राजवंशी, आदित्य महताले दुई-दुई तथा संगीत कोरे, माज सदाकत र अनिल शाहले एक-एक विकेट लिएका थिए।

प्लेअफको दौडबाट बाहिरिसकेका यी दुवै टोलीबीचको खेल प्रतिष्ठाका लागि थियो। जितसँगै ७ खेलबाट ४ अंक बनाएको कर्णालीले छैठाैं स्थानमा रहेकाे छ। साविक विजेता जनकपुर भने २ अंक जोड्दै अन्तिममा रहेकाे हाे।