काठमाडौं। ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङले आफू देशकै नेतृत्व लिने गरी तयारीमा लागेको बताउनुभएकाे छ।
रामेछापको सुनापति गाउँपालिकामा शुक्रबार आयोजित पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै ऊर्जासहित ३ वटा मन्त्रालय सम्हालिरहेका मन्त्री घिसिङले यस्तो बताउनुभएकाे हाे। देश बनाउनको लागि आफूले उज्यालो नेपाल पार्टी दर्ता गरेको बताउदै उहाँले आफूलाई सहयोग गर्न समेत अपील गर्नुभयाे। देशलाई उज्यालो बनाउन आफू नेतृत्वमा पुग्नु पर्ने भन्दै त्यसको लागि आफ्नो पार्टीको पक्षमा सहयोग गर्न पनि उहाँले आह्वान गर्नुभएकाे छ।
आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएको समेत उहाँले बताउनुभयाे। आगामी सरकारको नेतृत्व दिन सक्ने व्यक्ति आफू भएको पनि उहाँले दावी गर्नुभएकाे छ। परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको समेत मन्त्री घिसिङले बताउनुभएकाे छ।
आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको बताउदै उहाँले अब देशको नेतृत्व गर्न आवश्यक रहेको बताउनुभयाे। मन्त्री घिसिङले देशको नेतृत्व नगरेसम्म एउटा क्षेत्र मात्रै राम्रो बनाएर नहुने पनि बताउनुभएकाे छ। रामेछाप पुग्दा सरकारी साधन स्रोतको दुरुपयोग गर्दै आफ्नो पार्टीको पक्षमा भोट मागेको मन्त्री घिसिङमाथि आरोप पनि लागेको छ।
मन्त्री घिसिङले पालिकाको मञ्चबाटै आफूले घोषणा गरेको उज्यालो नेपाल पार्टीको पक्षमा प्रचार गर्नुभएकाे छ ।





प्रतिक्रिया दिनुहोस्