Logo १६ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025


वर्षाका कारण कृषि क्षेत्रमा ३ अर्ब बराबरको क्षति

७ प्रतिशत धान उत्पादन घट्ने

156
Shares

काठमाडाैं । गत कार्तिकमा आएको अविरल वर्षापछिको बाढी-पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिब ३ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ।

कार्तिक १५, १६ र १७ गते अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रमा करिब २ अर्ब ९१ करोड बराबरको क्षति भएको हो। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयार पारेको स्थलगत अध्ययनले सबैभन्दा बढी क्षति धानबालीमा भएको देखाएको छ। त्यसपछि तरकारी र केराबालीमा क्षति भएको अध्ययन प्रतिवेदनले देखाएको मन्त्रालयका सूचना अधिकारी समेत रहनुभएका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँले यसको सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको र त्यसमा पनि झापा जिल्लामा सबै भन्दा बढी धानबालीमा क्षति पुगेको बताउनुभयो।

उहाँका अनुसार सो विपद्ले मधेस, वागमती र गण्डकी प्रदेशमा क्रमशः क्षति पुर्‍याएको छ। समग्रमा करिब २० हजार हेक्टर धानबालीमा क्षति पुगेको प्रतिवेदनमा औंल्याइएको छ। विपदका कारण चालु आर्थिक वर्षमा करिब ५ देखि ७ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरेको छ। विशेष गरेर मधेसमा तरकारी बालीको उत्पादन घट्ने पनि अध्ययनले देखाएको सूचना अधिकारी जोशीले बताउनुभयो।

अध्ययनमा विपदबाट हुने क्षति न्यूनिकरणका लागि चेतनामूलक कार्यक्रममा जोड दिन प्रदेश तथा स्थानीय सरकारलाई सचेत गराइएको छ। मौसम सम्बन्धि जानकारी लिने र त्यसबारे कृषकहरुको घर-घरमा जानकारी गराउने काममा स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने कुरा पनि प्रतिवेदनले औंल्याएको हाे।