Logo १५ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025


जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेनः सहकारी पीडित


65
Shares

काठमाडाैं। सहकारी पीडितहरुले प्रदर्शनलाई जारी राखेका छन्।

यहि मंसिर ५ गतेदेखि पीडितहरुले साेमबार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका हुन् । उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारी पीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताउनुभयो।

उहाँले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गर्नुभयो। ३ वर्षदेखि सोही सहकारी बन्द भएको उहाँको भनाइ छ। सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरुले रत्नपार्कमा १ सय ८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको बताउनुभयो। हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उहाँको भनाइ छ। उहाँले सरकारले पटक-पटक वार्ता गरेता पनि आफूहरुको माग पूरा नगरेको बताउनुभयो। कतिपय सहकारी पीडितहरु डिप्रेशनको शिकार समेत बनेको उहाँको भनाइ छ।

उहाँले सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्नसक्ने बताउनुभयो। उहाँले आफू पनि डिप्रेशनको सिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिनुभएकाे छ। उहाँले जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफूहरुको माग पूरा नगरेको बताउनुभयो।

प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितलाई न्याय दे, बचतकर्ताको सम्पूर्ण वचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौं, सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ र सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै जस्ता नाम लेखेका प्ले कार्ड बाेकेर नारा लगाएका थिए।