Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


प्रधानमन्त्री कार्कीले गरिन् सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण

आगामी निर्वाचनमा एक थोपा पनि रगत नबग्ने गरी सुरक्षा व्यवस्था मिलाउन सेनालाई निर्देशन

260
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा एक थोपा पनि रगत नबग्ने गरी सुरक्षा प्रबन्ध गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ।

जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेपछि पहिलो पटक सेनाको मुख्यालय जंगी अड्डा शुक्रबार पुग्नुभएकी प्रधानमन्त्री कार्कीले जङ्गीअड्डाको निरीक्षणपछि यस्तो निर्देशन दिनुभएको हो। साेही क्रममा उहाँले निर्वाचन सुरक्षाको तयारीबारे पनि जानकारी लिनुभएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले आफूले आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्न नहुने र एक जना पनि घाइते हुन नहुने भन्दै आएको प्रशंग उठाउनुभएकाे छ। यस अघिका निर्वाचनको समेत अनुभव र सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गर्न उहाँले निर्देशन दिनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण बनाउने गरी काम गर्न समेत निर्देशन दिनुभएकाे छ।