Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


अर्गानिक कृषिमा लालीगुराँसको जोड

अर्गानिक खेतीलाई प्रोत्साहन

0
Shares

तेह्रथुम। उत्पादन बढाउने लोभमा रासायनिक मलको प्रयोग बढ्दो छ।

जसले उत्पादकत्व र मानव स्वास्थ्यमा पारेको असरप्रति कमै मानिस जानकार रहेका हुन् । तर, तेह्रथुमको लालीगुराँस नगरपालिकाले भने रासायनिक मल निरुत्साहनका लागि नीतिगत प्रयास थालेको छ। पालिकाले अर्गानिक कृषि उत्पादन कार्ययोजना बनाएरै काम शुरु गरेको हो।

लालीगुराँस नगरपालिकाले अर्गानिक कृषि उत्पादन कार्ययोजना ल्याएको छ। रसायनयुक्त खाद्य पदार्थको दीर्घकालीन सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै पालिकाले यस्तो कार्ययोजना ल्याएको हो। पालिकाले सहभागितामूलक प्राङ्गारिक गुणस्तर निर्धारण प्रणाली कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ। जसले किसानलाई गुणस्तरीय अर्गानिक उत्पादनतर्फ प्रोत्साहित गर्ने नगरप्रमुख अर्जनु माबोहाङले विश्वास गर्नुभयाे।

कार्ययोजना अनुसार कृषकले अर्गानिक खेतीका लागि १ रोपनीदेखि ४ रोपनी सम्म क्षेत्रफलमा खेती गर्नुपर्नेछ । अर्गानिक खेतीका लागि वडामा सूचीकृत भइ नगरपालिकामा दर्ता भएका कृषकलाई बिउविजन र हेलटेक लगायतका विभिन्न सेवा नि:शुल्क रुपमा दिने ,नगर उपप्रमुख जमुना मगर कार्कीले बताउनुभयाे।

अर्गानिक उत्पादनको ढुवानी सहज बनाउन नगरपालिकाले कृषि एम्बुलेन्स परिचालनको तयारी पनि गरेको छ । यसले किसानले उत्पादन गरेका तरकारी तथा फलफूल स्थानीय बजारसम्म छिटो र सहज रूपमा पुर्याउन मद्दत पुग्ने कृषि शाखाका प्रमुख आर्यल लिम्बुले अपेक्षा गर्नुभयाे।

पालिकाको कृषि शाखाका अनुसार अहिलेसम्म १२ सय ७५ जना कृषक अर्गानिक कृषिमा सूचीकृत भएका छन्। पालिकाको अर्गानिक प्रयासमा किसानको उत्साहजनक सहभागिताले यो कार्ययोजना सफल हुने कृषक ज्ञानेन्द्र बस्नेतले बताउनुभयाे।

खेतबारीमा जैविक सामग्रीले फसल स्वस्थ राख्नुका साथै माटोको उर्वराशक्ति दीर्घकालीन रूपमा जोगाउन सहयोग गर्ने कृषि क्षेत्रका जानकारहरु बताउँछ। साेही नगरपालिकाको अर्गानिक प्रयासले पर्यावरण संरक्षणमा पनि टेवा पुग्ने देखिन्छ।