Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


देउवाको सक्रियताले पार्टीभित्र जन्मायाे आशंका (भिडियाे रिपाेर्ट)

नेतृत्व हस्तान्तरण नगर्ने संस्थापनको दाउले युवा पंक्ति निराश

0
Shares

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरी राजनीतिमा सक्रिय हुन थाल्नुभएकाे छ।

जेनजी आन्दोलनका क्रममा निर्घात कुटाई खाएपछि पार्टीको नेतृत्व उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पेर उपचारका लागि सिंगापुर गएका देउवा एक महिना सिंगापुर बसेर फर्किए लगत्तै पार्टी राजनीतिमा सक्रिय हुन थाल्नुभएकाे हाे। खड्कालाई कार्यवाहक दिंदा सहज रुपमा नेतृत्व हस्तान्तरण गरेको भनेर सहानुभूति समेत पाएका देउवा सिंगापुरबाट फर्केपछि पुरानै शैलीमा उत्रिंदा कांग्रेस पार्टीभित्र र बाहिर संशय पैदा भएको छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक रेकर्ड तोड्ने गरी लम्बिईरहेको छ। गत असोज अन्तिम सातादेखि शुरु भएको बैठक अझैसम्म न टुंगिएको छ नत कुनै निष्कर्षमै पुग्न सकेको छ। पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषय बल्झिंदा केन्द्रीय समिति बैठक पनि अनिर्णयको बन्दी बनेको छ । एकातिर महाधिवेशनको विवाद गाँठो परेको छ भने अर्कोतिर सभापति देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको विवाद थप पेचिलो बन्दै गएको छ।

सिंगापुर बसेर देउवाले यता पार्टीमा निर्णय हुन नदिएको आरोप लागिरहेको बेला स्वदेश फर्किएर पुनः सक्रिय हुँदा महामन्त्रीद्वय थप सशंकित भएकाे हाे। विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर आगामी निर्वाचनमा जाने योजनामा रहेका महामन्त्रीहरु देउवाको सक्रियताले झस्किएका हुन्। त्यसैले पनि उनीहरुले विशेष महाधिवेशनका लागि संस्थापन पक्षलाई दबाब दिइरहेका छन्। देउवा फर्किएसंगै संस्थापन पक्षले देउवालाई थप सक्रिय बनाउने गतिविधिमा बल पुर्‍याईरहेकाे कांग्रेस केन्दीय सदस्य गुरु बरालले बताउनुभयाे।

आगामी निर्वाचनमा सभापति देउवाकै हस्ताक्षर रहने भन्दै कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । जबकी पार्टीका सबै काम कारबाही अघि बढाउने जिम्मेवारी कार्यवाहक सभापति खड्कालाई दिइएको छ । संस्थापन पक्षका पछिल्ला गतिविधिले आगामी निर्वाचनमा पनि देउवाकै दबदबा कायम राख्ने चालबाजी भईरहेको छ भन्ने स्पष्ट संकेत दिएको छ। अर्कोतर्फ चुनाव अघि महाधिवेशन नगर्ने भन्ने सन्देश पनि पार्टीभित्र दिन खोजेको बुझ्न कठीन छैन । जसका कारण नेतृत्व फेरेर चुनावमा जाने योजना बनाएका महामन्त्रीहरु लगायतका नेताहरुलाई झस्काउनु स्वभाविकै भएकाे केन्द्रीय सदस्य प्रतिमा गौतमले बताउनुभयाे।

जेनजी आन्दोलनको मर्म र भावना अनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने माग बढिरहेका बेला देउवाको सक्रियताले नेतृत्व परिवर्तनको अपेक्षा गरेका आम कांग्रेस कार्यकर्ता निराश बनेका छन् । त्यसमाथि निर्वाचन पछि मात्रै महाधिवेशन गर्ने संस्थापनको दाउले कतै पुनः देउवा आफैं सभापति बन्ने दाउमा लागेका त होइनन् भन्ने आशंका पनि जन्माएको छ।

तर पार्टीको युवा पंक्तिलाई अनावश्यक रुपमा पेल्ने संस्थापनको नीतिले कांग्रेसलाई विग्रहको डिलमा त पुर्‍याउँदैन ? कांग्रेस नेतृत्व यसतर्फ बेलैमा सचेत हुनु जरुरी छ।

भिडियाे रिपाेर्ट: