काठमाडाैं । जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकार एकपछि अर्को विवादमा तानिन थालेको छ।
भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने, नातावाद-कृपावादलाई जरैबाट उखेलेर फाल्ने म्याण्डेट पाएको सरकारका पछिल्ला क्रियाकलाप हेर्दा सरकारले जनअपेक्षा अनुसारको काम गर्ने छनक देखाएको छैन। बरु सरकार पुरानै सरकारको पदचाप पछ्याउन उद्दत देखिएको हाे। जनअपेक्षा पूरा हुने अवस्था नदेखेपछि कार्कीलाई सरकारको नेतृत्वमा पठाउनेहरुले नै उहाँको राजीनामा माग्न थालेका छन् ।
विकृति-विसंगति र कुशासनले मुलुक तहसनहस भएपछि जेनजी विद्रोह भएको थियो। जेनजी विद्रोहले मुलुकमा दशकौंदेखि जरा गाडेर बसेको भ्रष्टतन्त्रको जरा राम्रैसँग हल्लाईदियो। मुलुकलाई रसातलमा पुर्याउनेहरु एकाध घण्टामै साइड लागे। जसका कारण नयाँ पुस्ताको चाहना अनुसारको सरकार बनाउने बाटो खुल्यो । नयाँ पुस्ताले त्यही विश्वासमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको बागडोर सुम्पिए । शुरुका दिनमा नयाँ पुस्ताको चाहना अनुसारको काम गर्ने अपेक्षा गरिएको सरकार पछिल्ला दिनहरुमा भने पुरानै शैलीमा रमाउन थालेको छ।
प्रधानमन्त्री कार्की स्वयं नै मानिसहरुबाट घेरिएको आभाष हुन थालेको छ । युवतीहरुको डिम्ब झिक्ने धन्दा सम्बन्धि मुद्दामा चलखेल गरेको आरोप लागेकी महान्यायाधीवक्ता सविता बरालको बचाउ लाग्नेदेखि प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठको मनोनमानीसम्मका घटनालाई ढाकछोप गर्ने काम प्रधानमन्त्री कार्कीबाट हुँदा जेनजी पुस्ता आक्रोशित भएका छन् । प्रधानमन्त्री कार्कीले प्रमुख स्वकीय सचिव श्रेष्ठले आफ्नी श्रीमतीसहित परिवारका ४ जना सदस्यलाई जागिर दिएको घटनालाई पनि प्रधानमन्त्रीको सचिवालयले सामान्य कानूनी प्रक्रियाको बर्को ओढाएर बचाउ गर्न खोजेको देखिन्छ। प्रमुख स्वकीय सचिव श्रेष्ठले आफ्नी श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाउनुभएकाे छ।
उहाँले परिवारका सदस्य कमला श्रेष्ठलाई पनि सहसचिव सरहको नियुक्त दिलाउनुभएकाे हाे। संगीता र कमला दुवैले एकैदिन अर्थात गत असोज २ गते नियुत्ती लिएको खुलेको हो । श्रेष्ठले नासु सरहको प्रशासन सहायकमा परिवारका अन्य दुई सदस्य पुनम श्रेष्ठ र रविना श्रेष्ठलाई नियुक्त दिलाएको खुलासा भईसकेको छ । तर प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल भने सामान्य रुपमा लिनुभएकाे छ।
यहि विषयमा ध्यानाकर्षण गराउन जेनजीहरु दिनहुँ सिंहदरबार धाइरहेका छन् । तर प्रधानमन्त्री कार्कीले उनीहरुलाई भेट्न समेत नदिंदा उनीहरुले अपमान महसुश गर्दै आक्रोशित हुने गरेका छन् । प्रधानमन्त्री कार्कीको यो ब्यवहारप्रति जेनजीहरु सशंकित पनि हुन थालेका छन् । त्यसो त महान्यायाधिवक्ताको कार्यालयले युवतीहरुको डिम्ब तस्करी प्रकरणमा मुछिएको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरको सञ्चालक एवं अध्यक्षको जिम्मेवारीमा रहेकी डा. स्वस्ती शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गर्दा पनि प्रधानमन्त्री कार्कीले त्यसप्रति आँखा चिम्लिनुभएको छ।
डा. शर्मा महान्यायाधिवक्ता बरालकी सानीआमाकी छोरी भएकाे र डिम्ब तस्करीमा मुछिएको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरमा महान्यायाधिवक्ता बरालको पनि लगानी रहेको खुलेको छ। प्रधानमन्त्रीको कानूनी सल्लाहको भूमिकामा समेत रहेकी महान्यायाधिवक्ताले त्यस्तो गलत अभ्यास गर्दा पनि उहाँले हस्तक्षेप गर्न नसक्नुलाई पनि शंकाको दृष्टिले हेरिएको राजनीतिक विश्लेषक प्रा.डा. प्रेम शर्माले बताउनुभयाे।
प्रधानमन्त्री कार्की विवादमा तानिने अन्य प्रकरणहरु पनि छन् । सरकार विस्तारमा नै बिलम्ब गर्नु कार्की सरकारको मुख्य समस्या बनेको हाे। मन्त्री छनोटमा समेत अदृश्य शत्तिको बोलवाला रहेको भन्दै आलोचना पनि हुँदै आएको छ। त्यसैगरी राजदूत फिर्ताको निर्णयमा पनि कसैलाई काखा कसैलाई पाखा गरेको आरोप प्रधानमन्त्री कार्कीमाथि लागेको छ।
भिडियाे रिपाेर्ट:





प्रतिक्रिया दिनुहोस्