काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार दोहोरो अंकले बढेको छ।
आइतबार बिहान बजार खुलेदेखि नै उकालो यात्रा समातेको बजार परिसूचक नेप्से ३९ दशमलव ९२ अंक बढेर २ हजार ६ सय माथि पुगेको हाे। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूह मध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु १२ वटै उपसमूहको परिसूचक बढेको हाे। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ५५ प्रतिशत बढेको छ भने लगानी उपसमूहको परिसूचक २ प्रतिशत बढेको छ।
त्यस्तै, बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी बढेको हाे। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
गत हप्ताको अन्तिम कारोबार दिन ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा आइतबार दिनभरीमा ३ सय ३४ स्टकको १ करोड ३३ लाख ८१ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ। केही दिन अघि आइपीओ सूचीकृत भएका सागर डिष्टिलरी र बन्दीपुर केबलकार र झापा इनर्जीको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ।
आइतबारदेखि नै प्रमोटर र स्थानीयको शेयरको लक इन समय सकिएको पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य भने सर्वाधिक ७ दशमलव ६५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ६५ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हाे।
पिपुल्स हाइड्रोपावरको साढे ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएकाे छ ।





प्रतिक्रिया दिनुहोस्