Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


विस्तृत शान्ति सम्झौता भएको आजदेखि २० वर्षमा प्रवेश

द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएकाको अवस्था २ दशकसम्म पनि अज्ञातमै सीमित

299
Shares

काठमाडाैं। तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको शुक्रबार १९ वर्ष पूरा गरेर २० वर्षमा प्रवेश गरेकाे छ।

माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो। १० वर्ष भन्दा लामो समयकाे द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। साेही सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो।

सम्झौता अनुसार द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो। सम्झौतामा बेपत्ता पारिएका व्यक्तिहरू र मृत्यु भएकाहरूको वास्तविक नामसहितको विवरण विस्तृत शान्ति सम्झौता भएको ६० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने भनिएता पनि द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएकाहरू सबैको अवस्था बाहिर आउन सकेको छैन।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा १५ हजार भन्दा बढी नयाँ उजुरी दर्ता भएका छन्। आयोगमा परेका उजुरी ८० हजार हाराहारी पुगेको छ। विस्तृत शान्ति सम्झौताको २ दशक भइसक्दा समेत अझै शान्ति प्रक्रिया टुंगिएको छैन।