Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचकाे विवाद चर्किंदै (भिडियाे रिपाेर्ट)

निर्वाचन अघि महाधिवेशन नगर्ने संस्थापन पक्षकाे अडान कायमै

0
Shares

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निरन्तर रुपमा मिति सरिरहेकाे छ।

पार्टीको १५औं महाधिवेशनकाे बारेमा निर्णय गर्न अख्तियारी पाएको यो बैठक अहिलेसम्म अनिर्णित नै बनेकाे हाे। साेही बैठक शुरु भएको लामो समय भएता पनि ठोस परिणाम आउन नसक्दा समस्या उत्पन्न भएको छ। पछिल्लो समय त चलिरहेको बैठक नै निरन्तर स्थगित हुँदै आएपछि जसले थप आशंका उत्पन्न गरेको हाे।

न कुनै विशेष परिस्थिति न कुनै विशेष कारण । तर पनि कांग्रेसको केन्द्रीय समिति बैठक निरन्तर रुपमा स्थगित हुँदै आइरहेको छ। बिना कारण बैठक स्थगित हुँदै गएपछि कांग्रेस कार्यकर्ताहरुमा निराशा छाएको छ। गत असोज २८ गतेदेखि शुरु भएको यो बैठक केहीदिन यता निरन्तर स्थगित हुँदै आइरहेको छ। महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार रोकेर शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएकाे थियाे।

त्यो समयमा भएका आन्तरिक प्रयासमा कुरा नमिलेपछि सोमबारसम्मका लागि बैठक सारिएको थियो। सोमबारसम्म पनि ठोस निर्णय नआएपछि बैठक एकै पटक मंसिर ४ गते बिहीबारसम्मका लागि सारियो। बिहीबार पनि बैठक बिनाकारण एकाएक स्थगित भएको छ। यसरी पटकपटकका बैठक स्थगित हुँदै जाँदा पार्टीको केन्द्रीय समितिमाथि नै प्रश्नहरु उठ्न थालेका छन्। पार्टीले १५औं महाधिवेशनका विषयमा जति सक्दो छिटो निर्णय गरेर अघि बढनुपर्नेमा कार्यकताहरुको जोड छ। तर, महाधिवेशनका सम्बन्धमा सहमति नजुट्दा पार्टीको केन्द्रीय समिति बैठक नै प्रभावित बनिरहेको कांग्रेसका नेता रामकृष्ण यादवले बताउनुभयाे।

खासगरी संस्थापन र इतर पक्षबीच महाधिवेशनका विषयमा कुरा मिलेको छैन । संस्थापन पक्ष जसरी पनि महाधिवेशनलाई निर्वाचनपछि धकेल्ने लाइनमा छ भने इतर पक्ष सम्भव भए नियमित नभए विशेष महाधिवेशनको लाइनमा छ। दुवै पक्ष आ–आफ्नै लाइनमा अडिग हुनु नै अहिलेको समस्या हो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि दबाब बढाइरहेका छन् । तर, संस्थापन नेतृत्वले नचाहँदा समस्या आएको छ। त्यसमा पनि निर्णायक अख्तियारी पाएको केन्द्रीय समिति बैठक निरन्तर स्थगित हुँदा पार्टीपंक्तिमा भने निराशा छाएको कांग्रेस नेता नैनसिंह महरले बताउनुभयाे।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आफ्नो लाइनमा अडिग रहेका छन् । उनीहरु जसरी भएता पनि विशेष महाधिवेशन गराउने अडानमा छन् । यस पटक जसरी भएपनि कांग्रेसलाई रुपान्तरण गर्ने उनीहरुको अडान छ। यी सबै गतिविधिबाट पार्टीको केन्द्रीय समिति कत्तिको बलियो भएर निस्किन्छ त्यो हेर्न बाँकी नै छ।
भिडियाे रिपाेर्ट: