काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका पदक विजेतालाई बधाई दिएकाे छ।
राखेपका सदस्य-सचिव टंकलाल घिसिङले बिहीबार पदक विजेतालाई भेटेरै बधाई दिएका हुन्। भारतको झारखण्डमा गत कात्तिक ६ देखि ८ गतेसम्म भएको प्रतियोगितामा नेपालले २ रजत र ४ कांस्य पदक जितेको थियो। राजन रोकायले १० हजार मिटर दौड र सोमबहादुर कुमालले ८ सय मिटर दौडमा रजत पदक जितेका थिए । सन्तोषी श्रेष्ठले ५ हजार र १० हजार मिटर दौडमा कास्य पदक जितेकी थिइन् । दुवै स्पर्धामा सन्तोषीले नयाँ राष्ट्रिय कीर्तिमान पनि स्थापित गरेकी थिइन्।
मुकेश बहादुर पालले ५ हजार मिटर दौडमा कांस्य तथा मिक्स रिलेमा सोमबहादुर कुमाल, रामप्रसाद थारु, जयरानी थारु र रमिता थारु सम्मिलित टोलीले कांस्य पदक प्राप्त गरेको थियो। कार्यक्रममा राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ र हिमालकुमार श्रेष्ठसहितको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्