Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत

७ वटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने सरकारकाे निर्णय

234
Shares

काठमाडौं। केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह मन्त्रालयका प्रवक्ता सह-सचिव आनन्द काफ्लेले बताउनुभएकाे हाे। ४ वटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्दै त्यसलाई स्वीकृत गरिएको उहाँले बताउनुभयाे।

प्रवक्ता काफ्लेले सुरक्षा निकायको भूमिका-जिम्मेवारी विभाजन, राजनीतिक गतिविधि र सीमा क्षेत्रमा हुन सक्ने घुसपैठ लगाएतका लागि आवश्यक सुरक्षा योजना तयार भएको जानकारी दिनुभएकाे छ। त्यसैगरी निर्वाचनमा सेना परिचालनका लागि एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रस्ताव भए अनुसार रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषदमा सिफारिस गर्ने निर्णय भएको पनि उहाँकाे भनाइ छ।

हिंसा भड्काउने र जनतालाई आतंकित पार्ने गतिविधि निस्तेज गर्न कडाइसाथ कानूनी कारवाही अघि बढाउने निर्णय भएको समेत उहाँले बताउनुभयाे। त्यस्तै, केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने पनि निर्णय गरेको छ। आगामी मंसिर ९ गते लुम्बिनी प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुरुवात गर्ने प्रवक्ता काफ्लेले बताउनुभयाे।