काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको हुनाले भव्य हुने अनुमान गरिएको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार दिन र रातमा खेल गराउनेगरी तयारी अघि बढेको छ ।
नेपालमा पहिलो पटक फ्लडलाइटको उज्यालोमा क्रिकेट खेल हुने भएपछि क्रिकेट प्रेमीका लागि रमाइलो अनुभव हुने भएको छ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा फ्लडलाइटको व्यवस्था गरिएको छ । जसअनुसार अधिकांश खेलहरु फ्लडलाइटको सहायतामा खेल खेलाउने तयारी भइरहेको छ ।
क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार लिगमा हरेक दिन दुई खेल हुनेछन्, जसमा एउटा खेल दिउँसो र अर्को बेलुकीको समयमा राखिएको छ । पहलिो खेल बिहान ११ः४५ मा र दोस्रो खेल अपराह्न ४ बजेदेखि सुरु हुने तालिका छ । लिग मंसिर १ गतेबाट सुरु हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ ।
यो संस्करणमा ३५ करोड बढी रकम उठ्ने क्यानको अनुमान छ । प्रायोजक, टिम, टिकटहरुबाट गरी उक्त रकम उठ्ने आँकलन गरिएको हो । प्रायोजकबाट १५ करोड ३० लाख, ८ टीमबाट ९ करोड, टिकटबाट ८ देखि १२ करोड र ओटीटीबाट ५ करोड ३० लाख रुपैयाँ कटाएर बाँकी रकमको ७१ प्रतिशत क्यानले पाउने बताइएको छ ।
एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउने क्रममा छन् । एनपीएलको उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ ।
अघिल्लो संस्करणमा क्यानले हरेकदिन १० हजार टिकट र २ हजार पास वितरण गरेको थियो । यो संस्करणमा भने त्यो संख्या केही घटेको छ । यस वर्ष हरेकदिन ९ हजार ५ सय टिकट र एक हजार पास वितरण गरिने क्यानले जनाएको छ । भिड नियन्त्रणमा समस्या बढेपछि टिकट र पास वितरणलाई केही घटाइएको हो । यसका साथै, क्यानले सुरक्षा चुनौतीको विषयमा सुरक्षा निकायसँग पनि समन्वय भइरहेको जनाएको छ ।
यस्तो छ टिकट मूल्यः
उद्घाट्नको दिन र शनिबार
सामान्य टिकट: रु. ५००
प्रिमियम टिकट: रु. १५००
शनिबार बाहेकका खेलहरुः
सामान्य टिकट: रु. ५००
प्रिमियम टिकट: रु. १०००
प्लेअफ तथा फाइनल खेलहरुः
सामान्य टिकट: रु. १००
प्रिमियम टिकट: रु. २०००
क्यानले सिजन पासको पनि व्यवस्था गरेको छ । सो पासका लागि १५ हजार मूल्य तोकिएको छ । यसबाट दर्शकहरुले प्रतियोगिताका सबै खेलहरु हेर्न पाउनेछन् ।




प्रतिक्रिया दिनुहोस्