Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


बाबुराम भट्टराई वैकल्पिक शक्तिकाे दौडधूपमा !


0
Shares

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि राजनीतिक शक्तिहरुमा भइरहेको उथलपुथलकैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि वैकल्पिक शक्ति बनाउने भन्दै छलफल अघि बढाउनुभएकाे छ।

जेनजी आन्दोलनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट राजीनामा दिएका भट्टराइले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), तत्कालिन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, विवेकशील साझा, उज्यालो नेपाल अभियानलगायका पार्टी, समूह र ब्यक्तिहरुसँग छलफल अघि बढाउनुभएकाे हाे।

विभिन्न १० वाम घटकहरु मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन गरेसँगै त्यसले अन्य राजनीतिक पार्टी र समूहहरुमा पनि नयाँ बहस सिर्जना गरेको छ । जसरी १० वटा दल मिलेर नयाँ पार्टी गठन गरियो त्यसैगरी अन्य शक्ति तथा समूहहरु पनि नयाँ वैकल्पिक शक्ति बनाउने भन्दै छलफल र भेलामा जुट्ने क्रम शुरु भएको छ । जेनजी आन्दोलनपछि फरक शैलीको नयाँ वैकल्पिक शक्तिको जन्म होला भन्ने आसाकाबीच पुरानै अनुहारहरुले विकल्प दिने भन्दै दौडधूप गर्न थालेका हुन् ।

विशेषतः नवगठीत नेपाली कम्युनिष्ट पार्टीमा जसरी वर्षाैंदेखि राजनीतिक वृत्तमा नाचिरहेका पुरानै अनुहारहरुको जमघट भयो त्यसले निकास नदिने भन्दै अरु पक्षहरु पनि छलफलमा जुटिरहेका छन् । नेपाली कम्युनिष्ट पार्टीको गठन जेनजी विद्रोहको भावना विपरीत रहेको भन्दै उनीहरूलगायत पुराना शक्तिहरुलाई निर्वाचनबाटै परास्त गर्ने दावी समेत वैकल्पिक शक्ति बनाउन जुट्नेहरुको छ।

डा. भट्टराइको पहलमा बिहीबार भएको छलफलमा भट्टराईसहित रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा, सुदन किराँती, नयाँ शक्तिकी उपाध्यक्ष मानुषी भट्टराई र विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा लगायत नेताहरू सहभागी थिए। छलफलमा पुराना दलहरुले जनतामा देखाएको निराशालाई चिर्नका लागि नयाँ शक्तिहरु मिलेर निर्वाचनमा जानुपर्ने प्रस्ताव सारिएको छ ।

वैकल्पिक शक्तिहरु विगतमा पनि निर्माण नभएका होइनन् । स्वयम् भट्टराईले नै वैकल्पिक शक्ति बनाउने भन्दै संविधानसभाबाट संविधान जारी भएलगत्तै जनयुद्ध लडेको माओवादी पार्टी त्यागेर नयाँ शक्ति नामको पार्टी गठन गर्नुभएको थियो । तर सो पार्टीले पनि गरिखाने अवस्था नभए पछि भट्टराई पछिल्ला १० वर्षदेखि कहिले कता त कहिले कता गर्ने बाध्यतमा हुनुभएकाे हाे । अर्कोतर्फ विवेकशील साझाको पनि त्यस्तै, हालत छ भने छलफलमा जुटेकाहरुमा रास्वपा बाहेक अन्य पक्षहरु शक्ति भन्दा पनि ब्यक्तिहरु हुन्।

वैकल्पिक शक्ति बनाउँदा सवैभन्दा पहिले त पार्टी, समूह वा ब्यक्ति जुट्ने भन्दा पनि निश्चित विचार र लक्ष्य पहिले तय हुनुपर्ने हो । त्यसैले भट्टराइले अघि बढाउन खोज्नु भएको वैकल्पिक शक्ति निर्माणको प्रयासलाई नि अहिले नै यसै भन्न सकिने अवस्था भने छैन ।