केके मानन्धर
काठमाडाैं । विश्व सम्पदामा सूचीकृत काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल चढाएर बुद्धपूजा गरिएको छ।
चतुरासीति सहस्स पुप्फ पूजाको नामले बुधबार लोककल्याणको कामना गर्दै पूजा गरिएको हो । सम्यक सम्बुद्ध शाक्यमुनि तथागतले आफ्नो जीवनकालमा थुप्रै धर्मदेशना दिनुभएको छ । सोही धर्मदेशनालाई ८४ हजार धर्मस्कन्धको रुपमा सयपत्री फूल चढाएर ८४ प्रकारका अष्ट परिष्कारसँगै पूजा कार्यक्रम सम्पन्न भएको कंकेश्वरीस्थित नमूना बुद्ध बिहारका प्रमुख श्रद्धेय सारद भन्तेले जानकारी दिनुभएको छ ।

पूजाको क्रममा स्वयम्भू महाचैत्य तथा सोही परिसरमा अवस्थित चैत्य, चिभाः र मन्दिरमा सयपत्री फूल चढाइएको छ । चार वर्ष यतादेखि कात्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमिला पुन्हिको सन्दर्भमा बुद्धपूजा गर्दै फूल चढाउँदै आएको हो । विभिन्न बिहारका भिक्षु, गुरुमां, उपासक तथा उपासिकाहरुको सहभागितामा पूजा सम्पन्न भएको हो । श्रद्धेय भिक्षु पियदस्सि स्थवीरले सञ्चालन गर्नुभएको कार्यक्रममा भिक्षु धर्ममूर्ति महास्थविरले शील प्रदान गर्नुभएको थियो ।
त्यस्तै, कौडण्य महास्थवीरले धर्मदेशना दिनुभएको कार्यक्रममा श्रद्धेय भिक्षु अशोक महास्थवीर र समित स्थवीरले ८४ ताजि व्यञ्जन पूजा गर्नुभएको थियो । मानव जीवनमा सुख, शान्तिको लागि कामना गर्दै बौद्ध पाठसँगै उपासक र उपासिकाहरुले दानपुण्य समेत गर्नुभएको थियो । कार्यक्रमको अन्तमा पुण्यानुमोदन गराइएको थियो । आजकै दिन तथागत गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थविरले परिनिर्वाण प्राप्त गर्नुभएको बताइन्छ




प्रतिक्रिया दिनुहोस्