काठमाडाैं । देशका छरिएर रहेका विभिन्न १० वटा वामपन्थी घटकहरु एउटै पार्टीमा समाहित भएका छन् ।
काठमाडाैंमा बुधबार एक समाराेहकाबीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १० वटा घटकबीच एकता भएको हो । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । तर एकतामा आएका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादीमा भने पार्टी एकताले विग्रह ल्याइदिएको छ। जसका कारण पार्टी एकतालाई खल्लो बनाएकाे हाे।
जुट्ने र फुट्ने नेपालका वामपन्थी दलहरुको मुख्य विशेषता नै हो । इतिहासदेखि नै सजिलै मिल्ने र उत्तिकै सजिलो गरी छुट्टिने चरित्र कम्युनिष्ट घटकहरुको देखिंदै आएको छ। त्यहीं चरित्रलाई थप चरितार्थ गर्दै यस पटक १० वटा वामपन्थी घटकहरु फेरि एक पटक एक ठाउँमा उभिएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुनको समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादी, सुवासराज काफ्ले नेतृत्वको जन समाजवादी पार्टी, महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी र प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायतका कम्युनिष्ट घटकहरूले बुधबार एकता घोषणा गरेका हुन् ।
१० वटा घटकहरु मिलेपछिको पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राखिएको छ भने चुनाव चिन्ह तारा प्रस्ताव गरिएको छ । एकता प्रक्रियामा १० वटा दल समाहित भए पनि पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रनै नयाँ पार्टीको मुख्य घटक हो भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सहायक घटक हो। दाहाल र नेपालकै डिजाइनमा यो एकीकरण भएको हो । करिब एक दर्जन घटकहरु मिलेर एकीकृत ठूलो पार्टी बनाउने अभियान चल्दै गर्दा मुख्य घटक माओवादी केन्द्र र एकीकृत समाजवादी भने एकीकृत रुपमा एकता प्रक्रियामा आउन सकेनन् ।
माओवादीबाट सोही पार्टीका प्रभावशाली नेता जनार्दन शर्मा, राम कार्की लगायत बाहिरै बसे भने एकीकृत समाजवादीका पनि महासचिव घनश्याम भुसाल र रामकुमारी झाँक्रीसहितका प्रभावशाली नेताहरु एकीकृत पार्टीको रेल चढ्न तयार भएनन् । एकता प्रक्रियाबाट माओवादी कार्यकर्ताहरुमा भने त्यति धेरै उत्साह भरेको पाइएको छ्रैन । नेता शर्माहरु बाहिर छुटेकाले मात्रै होइन, पार्टी संयाेजक दाहालले सशस्त्र जनयुद्धदेखिको विरासत नामेट गरेको भन्ने गुनासो माओवादी कार्यकर्ताहरुमा ब्यापक छ । यसअघि पनि नेकपा एमालेसँग पार्टी एकता गरिसकेका संयाेजक दाहाल भने अहिलेको एकता प्रक्रियालाई पनि आफ्नै ढंगले ब्याख्या गरिरहनु भएको छ ।
एकता प्रक्रियाको सवैभन्दा धेरै फाइदा भने एकीकृत समाजवादी र त्यो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई हुन सक्ने विश्लेषण पनि गरिंदैछ । एमालेसँग मिल्न नसक्ने र एक्लै बस्दा अस्तित्वको संकटमा पुगिसकेका सह-संयाेजक नेपालका लागि यो एकता संजीवनीकाे बुटी बन्नसक्छ। जेनजी युवाकाे आन्दोलनपछिको राजनीतिक परिदृष्यलाई उपयोग गर्दै वर्षाैंदेखि राजनीतिक दृष्यमा रहँदै आएका समूह र ब्यक्तिहरुबीच एकता भएको हो भने एकतापछि पनि उनै पुराना अनुहारहरु नै नेतृत्वमा रहेका छन् ।
छुट्टाछुट्टै पसल थापेका घटकहरु एक ठाउँमा आउनुलाई सकारात्मक त मान्न सकिन्छ । तर जेनजी आन्दोलनको मर्म र राजनीतिक उद्धेश्य पूरा गर्न पुराना पार्टीहरुको नयाँ दल कति सफल होला भन्ने कुरा भविश्यले नै बताउने छ।
भिडियाे रिपाेर्ट:





प्रतिक्रिया दिनुहोस्