काठमाडौं । चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस ठोक्किएको हो ।
त्यसपछि सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बससमेत ठोक्किएको प्रहरीले जानकारी दिएकाे छ ।
बस दुर्घटनापछि सडकमा पल्टिएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरूको उद्धार गरी चितवनका विभिन्न अस्पताल पुर्याएको छ ।
घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेकाे छ ।
क्रेनको सहायताले दुर्घटना भएको सवारि साधन हटाएर आज बिहान २: ५५ बजेबाट सडक एकतर्फी सञ्चालन गराइएको छ ।





प्रतिक्रिया दिनुहोस्