Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


आजको मौसम: यी स्थानमा भारी वर्षा र हिमपात


3.4k
Shares

काठमाडौं ।

बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ।

त्यस प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

शुक्रबार साँझपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ। बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले बताएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

त्यस्तै कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

Skip This