Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


नदीले धार परिवर्तन गर्दा बगरमा परिणत भए खेतीयोग्य जमिन


0
Shares

सर्लाही, असोज ६ । बागमती नदीले खेत कटान गर्न थालेपछि सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १ हजरियाबासी चिन्तित बनेका छन् ।

जेठको अन्तिम सातादेखि बागमती नदीले पुरानो धार परिवर्तन गरी पूर्वपट्टी आएपछि खेतीयोग्य जमिन कटान हुन थालेको हो । अहिलेसम्म उखु लगाइएको सयौं बिघा जमिन बगरमा परिणत भइसकेको छ ।

नदीमा आएको बाढीले उखु, बेसार, मकै बाली लगाइएको जमिन कटान गरेको हो । खेतीयोग्य जमिन बचाउन कुनै तटबन्ध निर्माण नगरिँदा समस्या भएको स्थानीयको गुनासो छ ।

बागमती नदीमा आएको बाढीले आफ्नो ५ बिघाको उखु खेत बगरमा परिणत भएको बरहथवा नगरपालिका–१ हजरियाकी शारदा देवीले बताइन् । पहिले २ किलोमिटर पश्चिमबाट बग्ने नदी अचानक पूर्वपट्टी आएर बग्न थालेपछि खेतीयोग्य जमिन बगरमा परिणत भएको हो ।

पूर्वमा लखनदेही र पश्चिममा बागमती नदी जिल्लावासीका लागि अभिशाप भएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो बताउँछन् ।

नगरपालिकाले मात्र नदी नियन्त्रण गर्न नसक्ने र केन्द्रबाट रकम नआएकाले समस्या भएको उनले जानकारी दिए ।