काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ ।
मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।
प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । काठमाडौँका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको बताइएकाे छ ।
अन्तरराष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै उनले एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको उल्लेख गरे । अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको छ । इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरेको छ । त्यसपछि उक्त प्रणाली विस्तारै कमजोर हुँदै उत्तर, उत्तर–पश्चिम दिशातर्फ सर्दै न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्यभू–भाग नजिक आएर पूर्वतर्फ सर्दै गरेको छ ।




प्रतिक्रिया दिनुहोस्