कञ्चनपुर, असोज ६ । चालक अनुमतिपत्र वितरणमा यातायात व्यवस्था विभागले लापरवाही गर्दा सेवाग्राही समस्यामा परेका छन् । हेभी वर्गको चालक अनुमतिपत्रका लागि जाँच पास गरेका सेवाग्राहीलाई समेत विभागले मिनी वर्गको चालक अनुमतिपत्र वितरण गरेपछि सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्नु परेको हो ।
आफूले हेभी वर्गको जाँच पास गरे पनि मिनी वर्गकै चालक अनुमतिपत्र आएको कञ्चनपुरका सुरेश नेपालीले गुनासो गरे । उनले चालक अनुमतिपत्र सच्याउन ३ पटकसम्म दस्तुर तिर्दासमेत आफूले हेभी वर्गको चालक अनुमतिपत्र नपाएको बताए ।
यातायात व्यवस्था कार्यालय महाकालीबाट सुरेश नेपालीको नाममा ‘बी’, ‘एफ’ र ‘जी’ वर्गको सवारी चालक अनुमतिपत्रका लागि रसिद काटिएको छ । ‘बी’ वर्गमा कार, जीप, डेलिभरी भ्यान पर्दछन् भने ‘एफ’ मा मिनी बस र मिनी ट्रक पर्दछन् । त्यस्तै ‘जी’ वर्गमा ट्रक, बस, लरी पर्दछन् । यातायात विभागको वेबसाइटमा पनि नेपालीको नाममा उल्लेखित तीन वर्ग उल्लेख छ । तर, उनले प्राप्त गरेको चालक अनुमति पत्रमा भने ‘बी’ र ‘एफ’ अर्थात् साना र मिनी वर्गको सवारी मात्रै उल्लेख गरिएको छ ।
यातायात व्यवस्था कार्यालय महाकालीका निमित्त प्रमुख केशवदत्त जोशीले नेपालीको चालक अनुमति पत्रमा त्रुटी भएको स्वीकार गरे । उनले त्रुटी सच्याउनका लागि यातायात व्यवस्था विभागमा यसअघि नै पत्राचार गरिएको जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्