काठमाडाैं ।
हालसम्म करिब २६ लाख श्रमिकले सामाजिक सुरक्षा कोषमा ९३ अर्ब रुपैयाँ जम्मा गरिसकेका छन् ।
कोषले सञ्चालन गर्दै आएको सुरक्षा योजना, सामाजिक सुरक्षा योजना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार ४ सय ७६ पुगेको छ ।
पछिल्लो समय कोषमा आवद्ध हुने श्रमिकको संख्या बढ्दै गएको हो । कोषका अनुसार आवद्ध हुने योगदानकर्ता र रोजगारदाताको सूचिकरण तथा योगदान रकम संलकनमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८१-८२ मा मात्रै ८ लाख ८२ हजार ९ सय ४६ नयाँ श्रमिक सूचिकृत भएका थिए ।
हालसम्म २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आवद्ध भइसकेका छन् । तर औपचारिक क्षेत्रका श्रमिक धेरै आवद्ध भइसक्दा अनौपचारिक क्षेत्रका श्रमिकको संख्या धेरै कम छ । तुलनात्मक रुपमा औपचारिक क्षेत्रमा काम गर्ने धेरै सामाजिक सुरक्षामा रहेको देखिएपनि अझै पनि ठूलो संख्या आउनै बाँकी छ ।
पछिल्लो श्रम सर्वेक्षण, २०७५ अनुसार श्रम बजारमा ७० लाख ८६ हजार जना रोजगारीमा छन् । त्यसमा औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार कार्यरत छन् । अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार । अनौपचारिकको सबैभन्दा ठूलो हिस्सा कृषि, वन र मत्स्यपालन क्षेत्रमा २१ दशमलव ५, निर्माण क्षेत्रमा १३ दशमलब ८, खुद्रा व्यापारको क्षेत्रमा १७ दशमलब ५ र यातायात क्षेत्रमा ४ दशमलब ५ प्रतिशत रहेको छ ।
१९ लाख ३४ हजार भन्दा बढी वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले कोषमा योगदान गरिरहेका छन् । अहिलेसम्म सामाजिक सुरक्षा कोषले ९३ अर्ब रुपैयाँ योगदानकर्ताबाट संकलन गरिसकेको छ । यो रकम धेरै जसो बैंकमा राखेर कोषले ब्याज खाइरहेको छ । सामाजिक सुरक्षा ऐन, कार्यविधिअनुसार यो रकम उत्पादनशील क्षेत्रमा, प्रतिफल दिने क्षेत्रमा लगाउनुपथ्र्यो ।
कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषलाई प्रभावकारी बनाउन निरन्तर लागिपरेको दाबी गर्नुभएको छ । अस्पतालमा भर्ना भएर गरिने उपचारमा १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा लागू गरिएको कोषले जनाएको छ । आगामी चार वर्षभित्र कोषमा आवद्ध श्रमिक र उनीहरूको परिवारको स्वास्थ्य सेवा राज्यले नै लिने लक्ष्य रहेको जनाइको छ ।









प्रतिक्रिया दिनुहोस्