Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


माओवादी केन्द्र र नेकपा एसबीच एकीकरणको टुंगो !


2.2k
Shares

काठमाडाैं । काठमाडाैं ।

नेपालका दुई कम्युनिस्ट घटकहरुबीच पार्टी एकताको टुंगो लागेको दाबी गरिएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको दाबी ती दलका नेताहरुले गरेका छन् ।

दुई दलबीच एकता गर्ने विषयमा कुनै मतभेद नरहेको र एकता सम्बन्धि निर्णय लिने जिम्मा दाहाल र नेपाललाई दिइएको दाबी पनि वार्ता टोलीका सदस्यहरुले गरेका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि दिएको कात्तिक मसान्तको समय भित्रै नयाँ दलको रुपमा आयोगमा दर्ता गर्ने गरी काम भईरहेको बुझिएको छ ।

पार्टीको नाम र चुनाव चिन्ह नयाँ बनाउने विषयमा पनि सहमति भईसकेको बताइएको छ । तर नाम र चुनाव चिन्ह टुंगो लागिसकेको भने छैन । यस्तै नेतृत्व, केन्द्रीय समिति, पोलिटब्युरो र सचिवालयबारे पनि लगभग एकखालको सहमति बनिसकेको दाबी पनि गरिएको छ । दुई दलको एकता घोषणा हुनु अघि समाजवादी मोर्चामा रहेका अन्य दलहरुलाई पनि समावेश गर्ने प्रयास जारी रहेको पनि बुझिएको छ ।

आन्तरिक रुपमा पार्टी एकताको अन्तिम चरणमा पुगेको भएपनि माओवादी केन्द्रले भने यसलाई सार्वजनिक गर्न चाहेको छैन । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय भइनसकेको बताएको हो । पार्टी एकताबारे विभिन्न पार्टीसँग बृहत् छलफल भए पनि कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लाग्न बाँकी रहेको सचिवालयले जनाएको छ ।