Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


प्राधिकरणले थाल्यो उद्योगको लाइन काट्न


416
Shares

काठमाडाैं ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन महसुल बक्यौता नबुझाएका उद्योगहरूको लाइन काट्न थालेको छ ।

प्राधिकरणले आज जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको जनाइएको छ ।

उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको महसुल तिरेका छैनन् । जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरणको दाबी छ ।

तिहारको सार्वजनिक बिदामा समेत उद्योगहरूले बक्यौता बुझाउन सक्ने गरी विशेष काउन्टरको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

किस्ताको सुविधा लिई पहिलो किस्ता तिरेमा जुनसुकै समयमा काटिएको लाइन पुनः जडान गरिने प्राधिकरणले उल्लेख गरेको छ । बाँकी रहेका अन्य उद्योगहरूमाथि पनि क्रमशः कारबाही अघि बढाइने पनि प्राधिकरणले स्पष्ट गरेको छ ।