
रामेछाप ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ ग्वालटारमा जुवा तास खेल्दै गरेका २४ जना व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ४ बजे कल्याण कार्कीले आफ्नै घरको तेस्रो तलामा जुवा तास खेलाएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो । सो क्रममा २४ जना व्यक्तिलाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूबाट तासका पत्तासहित नगद रु. ३ लाख ८९ हजार १ सय ६१ बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश अधिकारीले जानकारी दिए ।
जुवातास खेल्ने कार्य कानुनी अपराध भएकाले सबै पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । उनका अनुसार जुवा, तास, सट्टेबाजी लगायतका गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले जिल्लाभर निगरानी र विशेष अभियान सञ्चालन गरिरहेको छ ।
दशैँ, तिहारको बेला गाउँमा पैसामा जुवा तास खेल्ने भएकोले प्रहरीले निगरानी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्