Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


‘दशैंका लागि साटेको नोट जलाएर चरित्र हत्या गरियो’: दीपक खड्का


9.6k
Shares

काठमाडाैं । ‘विदेश भागे’ भनी हल्ला फैलिएका पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का अन्ततः सार्वजनिक हुनुभएकाे छ ।

जेनजी आन्दोलनको समयमा आगजनी भएको आफ्नै घरमा आज खड्का पहिलोपटक देखिनुभएको हो । उहाँ हाल सम्पत्ति शुद्धीकरण विभागको निगरानीमा हुनुहुन्छ, जहाँ विदेशी तथा स्वदेशी लाखौं रुपैयाँ घरमा राखिएको आरोपको छानबिन भइरहेको छ।

तर, खड्काले यस्ता सबै आरोपको खण्डन गर्दै दशैंका लागि साटेर राखिएको २० र ५० रुपैयाँका नोटहरू जलाएर योजनाबद्धरूपमा आफ्नो चरित्र हत्या गरिएको दाबी गर्नुभएको छ । उहाँले आन्दोलनको दिन आफ्नै घरमा रहेको पनि स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेसका नेता समेत रहेका खड्काले आफूविरुद्ध गरिएको गलत प्रचारको खण्डन गर्दै निष्पक्ष छानबिनको माग गर्नुभएको छ। “मसँग दुई–चार लाख रुपैयाँ नहुन सक्छ भनेर कसैले विश्वास गर्दैन,” भन्दै उनले आफू राजनीतिको लागि व्यवसायमा लागेको, तर भ्रष्टाचारविरुद्ध अडिग रहेको बताउनुभयो ।

घरमा आगलागी भएपछि मानसिक तनावमा परेका परिवारसहित तराई गएको बताउनुभएको छ । तर, डेंगु संक्रमण भएपछि भारतको मेदान्त अस्पतालमा ११ दिनसम्म उपचारमा बसेको जानकारी दिनुभयो । त्यही क्रममा केही राजनीतिक भेटघाटहरू भएको स्वीकार गरे पनि आफू सिंगापुर नगएको उहाँले स्पष्ट पार्नुभयो ।

पटक–पटक राजनीतिक संघर्षमा जेल परिसकेका खड्काले पछिल्लो घटनाले आफू विचलित नहुने बताउँदै देशप्रति धैर्य राख्न जनतालाई आग्रह गरे। साथै, सधैं जनताको सुख–दुखमा साथ रहने प्रतिबद्धता गर्नुभयाे छ ।