
काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीको शुभकामना सन्देशमा उहाँले कठिन परिस्थितिमा एकताबद्ध रहने नेपाली मौलिक संस्कृति नै भएको उल्लेख गर्दै ‘कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ’ भन्नुभएको छ।
प्रधानमन्त्री कार्कीले छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञासहित फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त रहेको बताउनुभएको छ। साथै, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी रहेको स्पष्ट पार्नुभएको छ।
सन्देशमा भनिएको छ, ‘भदौको महान् जेनजी आन्दोलनले सरकारलाई सुम्पेको भरोसा र दायित्वको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने प्रतिबद्धता सरकारले लिएको छ।’ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट हुन उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्