Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


तिहारको पहिलो दिन आज काग तिहार पर्व मनाइँदै


208
Shares

काठमाडौं । देशैभरी तिहारको पहिलो दिन आइतबार काग तिहार पर्व मनाइँदैछ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि शुरु हुने ५ दिने तिहार पर्व आइतबार काग तिहारसहित शुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेका कारण आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदैछ।

तिहारलाई यमपञ्चक पनि भनिन्छ। जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मी पूजा, चौथो दिन गाई तिहार र पाँचौं दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ। वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ।

यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन रहेकाे छ। ‘काकेन दधि भक्षितम्’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास रहेकाे छ।

कागलाई नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने पनि मान्यता छ। त्यसैले साेही दिन कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भनेर प्रार्थना गरिन्छ। यस पर्वले धार्मिक पक्ष मात्र नभई मानिस र जनावरबीचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता र प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिन्छ।