
नविन सिंह-खिलनाथ ताजपुरिया
काठमाडाैं। सरकार बनाउने र गिराउने खेलमा लाग्दा नागरिक स्तरबाटै आलोचित हुँदै आएका राजनीतिक दलहरुका कारण देशमा जेनजी आन्दोलन नै भएकाे छ ।
नागरिकका मुद्दाहरुमा जहिले यत्रतत्र हुने राजनीतिक दल सरकार गठनको भागबन्डामा भने एक ठाउँमा हुन्छन् । नागरिकका मुद्दा भन्दा सरकार गठनको जोड घटाउनमा लागेका दलहरु मधेश प्रदेश सरकार गठनमा पुरानै शैलीमा फर्किएका छन् । मधेश सरकार गठनमा दलहरुले गरेको भागबन्डा र हानाथापले नागरिक स्तरमा भने अविश्वासका खाडल झन बढाएको छ ।
आफ्नै पार्टीको असहयोग र सत्तासहयात्री दलहरुले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य हुनुभएकाे छ। राजीनामा दिनुअघि उहाँले जनमत पार्टीविरुद्ध विष बमन नै गर्नुभयो । आफ्नै पार्टीको असहयोग र सत्तासहयात्री दलहरुले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य हुनुभयो । राजीनामा दिनुअघि उहाँले जनमत पार्टीविरुद्ध विष बमन नै गर्नुभएकाे छ।
राजीनामा दिनुभएका सिंहको राजीनामा समेत स्वीकृत भइसकेको छ । योसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रकृया पनि शुरु गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार अपराह्न ४ बजेसम्मको समय दिएर दलहरुलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभयाे।
मधेश प्रदेशमा अब नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन हुनेछ । यसअघि नै कांग्रेसको नेतृत्वमा सरकार बनाउने गठबन्धनभित्र पूर्व सहमति बनेको थियो । मुख्यमन्त्री सिंहले राजीनामा नदिएकै अवस्थामा कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले प्रदेश प्रमुखको कार्यालयमा पुगेर सरकार निर्माणका लागि दावी समेत प्रस्तुत गरिसकेका छन् । एमाले मधेश संसदीय दलका नेता सरोज यादवले मधेसमा कांग्रेसको नेतृत्वमा सरकार निर्माणकालागि आफूहरुले सहयोग गर्ने बताउनुभयाे।
यसैबीच, कांग्रेसका प्रदेशसभा सदस्यहरु समेत आफ्नै पार्टीको नेतृत्वमा सरकार निर्माण हुनेमा ढुक्क छन् । कांग्रेस, मधेश प्रदेशसभा सदस्य कुमरकान्त झा मधेश सरकारमा अब कांग्रेसले नै नेतृत्व गर्ने बताउनुभयाे ।
जेनजी आन्दोलनको क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा दिएपनि सिंह पछि आफ्नै घोषणाबाट पछि हटेपछि उहाँमाथि राजीनामाको चौतर्फी दबाब बढेको थियो । यसपछि आफ्नै दल जनमतले गत गत भदौ ३१ मा मधेश प्रदेशसभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो ।
त्यस्तै, यहि असोज २७ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले समेत समर्थन फिर्ता लिएपछि सिंह थप दबाबमा पर्नुभयो। अन्तत: विश्वासको मतका लागि मंगलबार आह्वान गरिएको प्रदेशसभाको बैठकमा सिंहले पदबाट राजीनामा दिएको घोषणा समेत गर्नुभएकाे छ।
जेनजी विद्रोहपछि संघमा अन्तरिम सरकार गठन भइसकेको अवस्थामा मधेश प्रदेशमा भने सत्तासमीकरण फेरिदै पुरानै दलहरु मिलेर नयाँ सरकार गठनको तयारीमा छन् । यस्तो अवस्थामा जेनजी युवा पुस्ताहरुमा निराशा छाएको छ।
प्रतिक्रिया दिनुहोस्