Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


तिहारकाे भाइ-टीकाको उत्तम साइत सार्वजनिक


2.5k
Shares

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारकाे भाइ-टीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

आगामी कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएकाे हाे । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा.देवमणि भट्टराईले जानकारी दिनुभयाे ।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएकाे छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । साेही दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र साँझ लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो २ बजेर ५२ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायकालमा औंशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय चलन रहेकाे छ । औंशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मंगलबार बिहान गर्नुपर्नेछ। कात्तिक ४ गते दिउँसो ४ बजेर २९ मिनेटसम्म औंशी तिथि रहेको समितिले जनाएको हाे ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय चलन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुभएको छ ।

साेही दिन यस वर्ष नेपाल संवत अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताउनुभयाे। यसै दिनदेखि नेपाल संवत ११४६ शुरु हुन्छ ।

शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइने भएकाे छ । आगामी मंगलबार २ गते बिहान ७ बजेर ४ मिनेटसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । शास्त्रीय ग्रन्थमा भातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजु-भाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजु-भाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेकाे छ ।

काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुशी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ।