
रामेछाप । असोज १७, १८ र १९ गतेको लगातार वर्षाको कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।
बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीका विभिन्न १६ ठाउँमा क्षति पुगेको थियो । बाढीले क्षति पुर्याएको करिब ५ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सडक सञ्चालन गरिएको छ । सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए ।
बाढीले क्षति पुर्याएको सडक सोमबारबाट सिन्धुली र काभ्रे दुवै तर्फबाट मर्मत सुरु गरिएको थियो । बाढीले सिन्धुलीको नेपालथोक र काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पु¥याएको थियो ।
सिन्धुलीको नेपालथोक र वर्षेखोला क्षेत्र तथा काभ्रेको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मङ्गलटार, कालढुङ्गा, पिप्ले, माम्ती लगायतकाले क्षेत्रमा क्षति पुगेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिए।
उनले उपकरण तथा जनशक्ति थप गर्न र राति पनि काम गर्न निर्देशन दिएका थिए । सोही अनुसार हिजो रातभरि काम भएको थियो । रोशी खोलामा गत वर्ष पनि असोज महिनामा आएको बाढीले राजमार्गमा क्षति पुर्याएको थियो । यस वर्ष गतसाल अस्थायी रूपमा सडक बनाएकै ठाउँमा सडकमा क्षति पुर्याएको हो ।
प्रतिक्रिया दिनुहोस्