Logo २४ आश्विन २०८२, शुक्रबार | Fri Oct 10 2025


विदेश भाग्न बिदाकै दिन बनाइएको थियो राहदानी


33.4k
Shares

–छानबिन सुस्त
–आरजुको अनुहारमा घाउ देखिएपछि अर्कै फोटो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणाले हतारहतारमा सार्वजनिक बिदाको दिन नयाँ राहदानी लिएको पाइएपछि परराष्ट्र मन्त्रालयले छानबिन थालेको छ ।

बिदाको दिन पहुँच र शक्तिका आधारमा एकाएक उहाँहरुले राहदानी लिएको तथ्य बाहिरिएपछि परराष्ट्र मन्त्रालयमा हलचल मच्चिएको थियो । त्यसलगत्तै परराष्ट्र मन्त्रालयले यस सम्बन्धमा छानबिन थाले पनि छानबिन भने निकै सुस्त देखिएको छ ।

गत असोज ३ गते संविधान दिवसका दिन उहाँहरु सैनिक अस्पतालमा उपचार गराइरहेको भए पनि सोही दिन राहदानी बनाइएको पाइएपछि परराष्ट्र मन्त्रालयका केही अधिकारीहरुले सेटिङ गरी राहदानी बनाइदिएको खुलासा भएको हो । देउवाको रातो र आरजुको साधारण राहदानी बनाइएको थियो ।

आरजुको ३ गते राहदानी प्रिन्ट गरेर इस्युचाहिँ असोज ५ मा गरेको पाइएको छ । सर्वसाधारणका लागि राहदानी बनाउन सक्कली नागरिकता नै अनिवार्य चाहिने भए पनि पूर्वमन्त्री आरजुलाई भने नागरिकता जलेको भन्दै फोटोकपी नै राखेर राहदानी इस्यु गराउने सुविधा दिइएको थियो । अन्य सर्वसाधारणले यस्तो सुविधा पाउँदैनन् ।

अझै रहस्य त उहाँहरु अस्पतालको बेडमा रहँदा कसरी राहदानी जारी भयो भन्ने रहेको छ । परराष्ट्र मन्त्रालय तथा राहदानी विभागका केही कर्मचारीहरु सेटिङका आधारमा मोबाइल किट लिएर अस्पतालमा उपचार गराइरहनुभएका देउवा र आरजुको फोटो खिच्न गएका थिए ।

त्यसरी फोटो खिच्दा आरजुको अनुहारमा घाउ भएको फोटो आएपछि रिजेक्ट भएको थियो । त्यसपछि अर्कै फोटो स्क्यान गरेर राहदानीमा टाँसिएको थियो । उहाँहरु उपचारका लागि थाइल्यान्ड जाने तयारीस्वरुप त्यसरी राहदानी बनाए पनि पछि थाइल्यान्ड भ्रमण रोकिएको थियो । उहाँहरुले थाइल्यान्डको भिसा लगाइसक्नुभएको थियो ।