Logo २१ आश्विन २०८२, मंगलबार | Tue Oct 7 2025


शेयर बजारमा उच्च अंकको गिरावट, ४ अर्ब ६२ करोड ९० लाख बढीकाे काराेबार


221
Shares

काठमाडाैं । बडा दशैंकाे बिदा पछि मंगलबार खुलेको शेयर बजार परिसूचक उच्च अंक घटेको छ ।

बजार खुलेदेखि घट्न थालेको बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८ दशमलव ५५ अंक घटेर २ हजार ६ सय ४ दशमलव ९६ विन्दुमा झरेको हो । नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक घटेको बजारमा अन्य उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ८३ प्रतिशतले घटेको छ।

त्यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी घटेका छन् । बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको हाे । सर्वाधिक मूल्य बढेका १० स्टकमा अधिकांश ऋणपत्र रहेका छन् । जसमध्ये सेन्चुरी डिबेन्चर २०८८ को मूल्य सर्वाधिक १० प्रतिशत बढेको हाे ।

तर भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशत घटेको छ । भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ । परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । दशैं अघिको अन्तिम कारोबार दिन करिब ३ अर्बको शेयर कारोबार भएको बजारमा ३ सय २६ वटा स्टकको १ करोड ३ लाख ४५ हजार कित्ता शेयर ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावरको सर्वाधिक २८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएकाे हाे।