Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


बाढी-पहिरो अपडेट: मृत्यु हुनेकाे संख्या १५ नाबालकसहित ६१ जना पुग्याे (विवरणसहित)

मेची र वीपी राजमार्ग बाहेक अन्य सडक सुचारू

728
Shares

काठमाडाैं । पछिल्ला दुई दिनमा देशका विभिन्न स्थानमा भएको भारी वर्षापछि आएको बाढी-पहिरोमा परी मृत्यु हुनेकाे संख्या ६० जना पुगेको छ।

नेपाल प्रहरीले साेमबार दिएकाे विवरण अनुसार बाढी-पहिरोका कारण ११ जिल्लामा १५ नाबालकसहित ६१ जनाको मृत्यु भएकाे हाे । इलाममा मात्रै ३८ जनाको मृत्यु भएकाेमा १३ पुरुष, १४ महिला र १० जना नाबालक रहेका छन् । त्यस्तै, पाँचथरमा ३ पुरुष, ४ महिला, १ नाबालक, उदयपुरमा २ महिला, १ नाबालक, खोटाङमा २ पुरुष, सुनसरीमा १ पुरुष, रौटहटमा १ महिला र २ नाबालक, मोरङमा १ महिला र महोत्तरीमा १ जना महिलाको मृत्यु भएकाे हाे। उता, सिन्धुपाल्चोकमा १ नाबालक, काभ्रेमा २ महिला र सिन्धुलीमा १ जना महिलाको मृत्यु एकाे छ।

यसैबीच, अविरल वर्षाका कारण अवरुद्ध बनेका सडकहरु सुचारु हुने क्रम भने बढेको छ । बाढी र पहिरोका कारण सडक बगाएका मेची र वीपी राजमार्ग अहिले पनि अवरुद्ध भएका छन् । अन्यत्रका सडकहरुमा भने सवारी साधन सञ्चालन हुन थालेका हुन् । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा साेमबार बिहानदेखि पूर्ववत रुपमा सञ्चालनमा आएका छन् । हेटौंडालाई राजधानी काठमाडौंसँग जोड्ने सबै सडकहरु पनि सञ्चालनमा आएका हुन् ।

कोशी प्रदेशमा भने सडकहरु अहिले पनि अवरुद्ध नै रहेका छन् । पूर्वी पहाडलाई तराईसँग जोड्ने मेची राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण मेची राजमार्ग पूरै अवरुद्ध रहेको हाे। यसैगरी बाढी र पहिराेका कारण सडक बगाएको वीपी राजमार्ग भने तत्काल सञ्चालनमा आउने अवस्था नरहेकाे जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएकाे छ।