
काठमाडाैं । नेपालीहरुको महान पर्व बडा दशैंको महाअष्टमी पर्व मंगलबार नेपालभरी श्रद्धा र भक्ति भावसहित मनाइँदैछ ।
धार्मिक परम्परा अनुसार महाष्टमीका दिन देवी दुर्गाको महागौरी स्वरूपको पूजा–आराधना गर्ने गरिन्छ । भक्तजनहरूले माता गौरीको आराधना गर्दै परिवार, समाज र राष्ट्रको शान्ति, समृद्धि र सुख–शान्तिको कामना गर्ने गर्दछन् । जनकपुरधामस्थित माता राजदेवी मन्दिरमा पनि मंगलबार बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको हाे।
पूजाअर्चना गरी प्रसाद चढाउने तथा महिलाहरूले खोइछ भर्ने क्रम जारी छ । घर-परिवारसहित आएका श्रद्धालुहरू दर्शन, आरती र चढावा अर्पण गर्न लाइनमा उभिएका छन् । महाअष्टमीको विशेष दिनमा बलि चढाउने परम्परा समेत रहेकाे छ। राजदेवी मन्दिर परिसरमा मंगलबार राति ८ बजेपछि बली प्रदान गरिने महावीर युवा कमिटीले जनाएको हाे ।
कमिटीकाअनुसार बलिप्रदानका लागि सम्पूर्ण तयारी पूरा हुनुका साथै भक्तजनहरूको सुरक्षासहित व्यवस्थापनमा स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महाअष्टमीलाई दुर्गा पूजाको सर्वाधिक महत्वपूर्ण दिनमध्ये एक मानिन्छ । देवीलाई शक्तिको प्रतीकका रूपमा आराधना गर्दा जीवनबाट दुःख–दरिद्र हट्ने विश्वास राखिन्छ ।
जनकपुरधाम मात्र नभई देशेभरीका शक्तिपीठहरूमा मंगलबार विशेष पूजा, आरती र बली कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्