Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


सेयर बजार एक हप्ताका लागि बन्द


299
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजार साेमबारदेखि एक हप्ताका लागि बन्द हुने जनाएकाे छ ।

दशैं बिदाका कारण बजार शनिबारसम्म बन्द हुने भएको हो । दशैं सकिएपछि आगामी आइतबारदेखि मात्रै बजार खुला हुने भएकाे छ । दशैं अघिको अन्तिम कारोबार हुँदा आइतबार बजार ११ दशमलव ५१ अंकले बढेको छ । योसँगै बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ५१ विन्दुमा कायम भएको हाे । बजारमा २ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

बजारमा १० वटा समूहका सूचक बढ्दा ३ वटा सूचक घटेका छन् । सबै भन्दा धेरै गिरावट ट्रेडिङ समूहमा १ दशमलव २८ प्रतिशतले भएकाे छ। होटल र अन्य समूहमा सामान्य गिरावट हुँदा बाँकी समूहको सूचक बढेकाे हाे । वृद्धि भएका समूहका सूचकको वृद्धि १ प्रतिशत भन्दा कम नै रहेकाे नेप्सेले जनाएकाे छ ।

बजारमा ग्लोबल आईएमई समुन्नत योजना २ म्युचुअल फण्डको मूल्य १० प्रतिशतले बढेको हाे । सिक्लेस हाइड्रोको शेयर भने सोही बराबर घट्दै नकारात्मक सर्किट लागेको छ । बजारमा आइतबार युनियन हाइड्रोपावरको २४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

नेपाल पुनर्बीमा कम्पनीको ११ करोडको कारोबार भएको नेप्सेले जनाएकाे हाे ।