Logo ७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025


सिरहा बालक हत्या प्रकरण: आफन्तसहित ८ जना पक्राउ


4.8k
Shares

काठमाडाैं । सिरहामा १४ वर्षीय बालक अभिषेक कुमार सिंहको अपहरणपछि हत्या भएको छ।

गोलबजार नगरपालिका-१३, दुर्गापुर डङ्ग्राहमा सिंहको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे हाे । साेही घटनामा संलग्न भएको आशंकामा प्रहरीले आफन्त र छिमेकीसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, बालकको शव मंगलबार बिहान घर भन्दा करिब १ सय मिटर पूर्वअर्जुन आधारभूत विद्यालय नजिकैको आँपको बगैंचामा फेला परेको थियाे। घटनाको प्रकृति हेर्दा नजिकैका व्यक्ति संलग्न रहेको स्थानीयको आशंका छ। शव नजिकै करिब १० मिटर दक्षिणमा एउटा सानो खाल्डो पनि फेला परेको छ।

प्रहरीले उक्त खाल्डो शव गाड्नका लागि खनिएको तर पानी परेकाले खाल्डो खन्न नसकेपछि शव त्यही् छोडेको हुन सक्ने अनुमान गरेको हाे। सिंहको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताएकाे छ ।

बालक यहि असोज ५ गते राति खाना खाएर घरबाट निस्केका थिए। शुरुमा साथीहरूसँग झिँजिया हेर्न गएको ठानेर परिवारले तत्काल खोजतलास नगरेको प्रहरीले बताएको छ । तर ६ गते बिहानसम्म पनि बालक घरमा नफर्किएपछि परिवारले खोज्न थालेका थिए।

उनका बुबाको करिब १० वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो। नाति अभिषेकको मुख हेरेर बाँचिरहेका हजुरबुवा लक्ष्मण महतो अहिले गहिरो शोकमा पर्नुभएकाे छ।