Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


फ्रान्समा बजेटको मस्यौदा फिर्ताकाे माग गर्दै नागरिक र ट्रेड युनियनले गरे हड्ताल


520
Shares

दीपक चालिसे

फ्रान्स । फ्रान्समा नागरिक र ट्रेड युनियनहरूले बिहीबार बजेटको मस्यौदा फिर्ता लगायतका विभिन्न माग गर्दै हड्ताल गरेका छन् ।

यहि सेप्टेम्बर महिनाकाे १० तारिखदेखि उनीहरूले आफ्ना माग पूरा गर्नका लागि चरणबद्ध रुपमा आन्दोलन गर्दे आएका थिए । हड्तालका कारण फ्रान्सको मेट्रो रेल पूर्ण रुपमा बन्द छ । यातायातका अन्य सवारी साधनहरु पनि ३० प्रतिशतले कटौती गरिएको हाे । सामाजिक कल्याण स्थगन र मितव्ययिता अपनाउने गरी आएको बजेटमा असन्तुष्टि जनाउँदै बजेट ट्रेड युनियनहरूले हडताल र सडक प्रदर्शन आयोजना गरेका हुन् ।

उनीहरुले सामाजिक कल्याण स्थगन र मितव्ययिताका उपायहरू समावेश भएको बजेट मस्यौदा फिर्ता लिन आग्रह समेत गरेका छन् । उनीहरले राष्ट्रपति इमानुयल म्याक्रोनको पेन्सन सुधारको विरोध गर्दै न्यूनतम सेवा निवृत्ति उमेर ६२ बाट ६४ मा बढाएकोमा असहमति जनाएका हुन् । फ्रान्समा बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनहरूले हड्ताल र सडक प्रदर्शन आह्वान गरेका छन् ।

नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ठूलो घाटा र ऋण नियन्त्रणकाे बारेमा राजनीतिक दलहरूसँग छलफल गरिरहेकाे समयमा उनीहरूले सोही कदम चालेका हुन् । युनियनहरूले लेकोर्नुलाई अघिल्लो सरकारले प्रस्ताव गरेको बजेट मस्यौदा फिर्ता लिन आग्रह गरेका छन् । उक्त योजनामा सामाजिक कल्याण स्थगन र मितव्ययिता उपायहरू समावेश छन् ।

जसले कम तलब र मध्यम वर्गीय कामदारहरूको क्रय शक्ति घटाउने चेतावनी दिएका छन् । युनियनहरूले यी उपायलाई ‘अभूतपूर्व क्रूरता’ भन्दै, कामदार, अस्थायी रोजगारीमा रहेका, सेवा निवृत्त र बिरामीहरूलाई मूल्य ठूलो चुकाउनु पर्ने बनाएको आरोप लगाएका थिए ।

हड्तालका कारण यातायात अस्तब्यस्त छ भने मानिसहरु गन्तव्यमा पुग्न समेत सकेका छैनन् । सरकारले सुरक्षा ब्यवस्था अति कडा गरेको जनाइएकाे छ ।