
काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेनजी युवाकाे आन्दाेलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताउनुभएको छ ।
हिलटेक समूहले बिहीबार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आन्दोलनका क्रममा धेरै क्षति भएको उल्लेख गर्नुहुँदै उहाँले यसको छिट्टै पुनर्निर्माण सम्पन्न गरेर सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभएकाे छ ।
निजी क्षेत्रमा पनि क्षति पुगेको मुख्यसचिव अर्यालकाे भनाइ छ । पुनर्निर्माणमा सहयोग गर्न निजी क्षेत्र र युवाहरुलाई समेत उहाँले आग्रह गर्नुभयो । धेरै ठाउँहरुमा निजी क्षेत्रले स्वतःस्फुर्त रुपमा सरकारी कार्यलय तथा प्रहरी चौकीहरु पुनर्निर्माणमा सहयोग गरिरहेको पनि उहाँकाे भनाइ छ।
उहाँले भन्नुभयो,-‘निजी क्षेत्रले जुन खालको सहयोग गर्ने उत्साह देखाएको छ, धेरै ठाउँहरुमा यो प्रहरी चौकीहरु र सरकारी कार्यलयहरु स्वस्फुर्त हिसाबमा चाहीँ बनाउने अभियान पनि शुरु भएको छ । काठमाडौँकै धेरै ठाउँहरुमा निजी क्षेत्रबाट जिम्मा लिएर पनि कामहरु भइरहेको छ । म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । धेरै क्षति छ, तपाईहरुले देखिरहनुभएको छ । म के आग्रह गर्न चाहन्छु भने । यसैगरी यो पुनर्निर्माण हामीले छिट्टै गर्नुपर्नेछ । सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेछ । यसलाई सबै क्षेत्रबाट विशेषगरी निजी क्षेत्रमा पनि क्षति छ । तर पनि सरकार र निजी क्षेत्रको समन्वयमा यो पुनर्निर्माणलाई चाहीं छिटो भन्दा छिटो सक्नुपर्ने भएको हुनाले यसैगरी सहयोगका हातहरु बढाईदिन र सरकारसँग सहकार्य गरेर अगाडी बढ्नको लागी म सबैसँग आग्रह गर्न चाहन्छु । र विशेष गरी युवा पुस्ताहरुले जुन कुरा उठाईराख्नुभएको छ । उहाँहरुलाई पनि यो अभियानमा सरिक हुनको लागी सरकारको तर्फबाट म हार्दिक आग्रह गर्न चाहन्छु ।’
मुख्यसचिव अर्यालले हिलटेक समूहले सरकारलाई १ सय वटा पानी ट्यांकी र ५ सय वटा ट्राफिक कोन उपलब्ध गराएको पनि जानकारी दिनुभयो । हिलटेक समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत १ हजार लिटर क्षमताका १ सय वटा पानी ट्यांकी ५ सय थान ट्राफिक कोन र अन्य सामग्री उपलब्ध गराएको समूहका अध्यक्ष कमल जैनले बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्