Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


खुद्रे आयोजना हटाउदा १ सय अर्ब वचत हुन्छः अर्थमन्त्री खनाल


15.4k
Shares

काठमाडाैं । खुद्रे आयोजनाहरु अघि नबढाउने निर्णय गर्नुभएका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले त्यस्ता आयोजनाहरु कार्यान्वयन नगर्दा १ सय अर्ब रुपैयाँ स्रोत जोहो हुने बताउनुभएको भएको छ ।

अर्थ मन्त्रालयमा सोमबार पदबाहालीपछि अर्थका अधिकारीहरुसँगको छलफलमा उहाँले त्यस्ता आयोजनाहरु हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय गरिएको बताउनुभएको हो । उहाँले यो ६ महिनाभित्र कुनै हालतमा निर्वाचन गर्नुपर्ने भएको अहिलेको बजेटमा त्यो प्रबन्ध गरिएको थिएन ।

त्यसैले खुद्रे आयोजना कटौती गरेर १ खर्ब जोहो गर्न लागिएको उहाँले बताउनुभयो । वर्तमान सरकार पूरक बजेटको सोचमा नरहेको समेत स्पष्ट पार्नुभएकाे छ । राजनीतिक दबाबमा बजेटमा छिराइएका आयोजनाहरुलाई अघि नबढाइने उहाँले स्पष्ट पार्नुभयो ।


उहाँले भन्नुभयो,–‘६ महिना भित्रमा हामीले निर्वाचन गर्नुपर्नेछ । यो बीचमा थप खर्च गर्नुपर्ने हुन्छ । जुन कुरा यसपालिको बजेटमा प्रवन्ध गरिएको थिएन । पुरक बजेट अथवा अरु कुनै किसिमको तयारीमा हामी छैनौं । हामीसँग दुई उपाय छ, पहिलो–बजेट भित्र रहेर फजुल खर्चका लागि गरिएका विनियोजन कटौती । दोस्रो–बजेटभित्र रहेर तयारी नभएका, कुनै किसिमको अध्ययन नगरि प्रोजेक्ट बैंकमा अन्तिम घडिमा राजनीतिक दबाबमा छिराइएका आयोजनाहरुमा राखिएका रकम निकाल्ने । अर्थमन्त्रालयमा आगजनीबाट लागेको कालो धब्बा, परिसरभित्रको जलेका गाडी तुरुन्त हटाऔं । यो सहित पुर्ननिर्माणमा बजेट खर्च गरिनेछ ।’

उहाँले करिब १ सय जना युवाहरूको ज्यानको बलिदानपछि ठूलो परिवर्तनको अवस्था आएको भन्दै यो नासोलाई पूरा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको समेत बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकका ६८ वटा शाखाहरुमा असर गरेको बताउनुभयो । उहाँले आन्दोलनकारीले बैंकहरु नै लक्षित गरेको भने नदेखिएको बताउनुभएकाे छ। गभर्नर पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन खनालले नै बनाएकाले समस्याकाे बारेमा उहाँ अवगत रहेको बताउँदै अब युवालाई आशा जगाउने हिसाबले नै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्न्भयाे,- ‘६८ वटा शाखाहरुमा असर गरेको छ । आन्दोलनकारीले बैंकहरु नै लक्षित गरेको भने देखिन्न । ६९ ओटा एटीएमहरु तोड्फोड भएका छन् । मान्छेहरुको मनोबल बढाउनुपर्ने अवस्था छ । यो भन्दा अघि पनि हामीलाई पहिले पनि चुनौती त्यही थियो । यो घटना हुनुअघि पनि हामीसँग धेरै समस्या थियो ।’

गभर्नर पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन खनालले नै बनाएकाले समस्याकाे बारेमा उहाँ अवगत रहेको बताउँदै अब युवालाई आशा जगाउने हिसाबले नै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।