
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको प्रभावले कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, गण्डकी प्रदेशको पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। नदीतट तथा भिरालो जमिन नजिकका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्