
काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् ।
सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गर्नुभएकाे थियाे। त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका छन्। जेनजी आन्दोलनको प्रतिनिधि १६ युवा जंगीअड्डामा पुगेकाे र राष्ट्रपति रामचन्द्र पाैडैलले संवादका लागि आह्वान गरेपछि आफूहरु सम्पर्कको पहल गरेकाे एक उच्च सैन्य अधिकारीले बताएका छन् । साेही क्रममा बुधबार जेनजी युवहरलाई बोलाइएको उनकाे भनाइ थियाे ।
स्रोतका अनुसार, नाम टिपाए अनुसार बोलाइएका जेनजी प्रतिनिधिले शुरुमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेका थिए । तर, धेरै संख्यामा जेनजी प्रतिनिधि पुगेपछि सिग्देलले शुरुमा सबैलाई मिलेर आउन आग्रह गर्नुभएकाे हाे । यो विषम परिस्थितिमा सबै पक्षको आवाज समेटिने गरी कुराकानी अघि बढाउनुपर्ने सिग्देलले बताउनुभएकाे स्रोतले जनाएकाे छ । त्यसका कारण उनीहरुलाई पहिले एकमत भएर वार्ताको टेबलमा बस्नलाई तयार हुन समेत प्रधानसेनापति सिग्देलले बताउनुभएकाे बुझिएकाे छ ।
प्रधानसेनापति सिग्देलसँग भेटपछि जंगीअड्डाभित्रै जेनजी प्रतिनिधि अहिले छुट्टै छलफलमा जुटेका छन् । उनीहरुलाई संवादका लागि एक जना संयोजक तोक्न समेत आग्रह गरिएको सैनिक स्रोतले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्