
काठमाडाैं । नेकपा एमाले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरमा शुक्रबार दाेस्राे विधान महाधिवेशनमा प्रतिवेदन पेश गर्नुभएको हो । ९१ पृष्ठ लामो सोही प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति र विदेश नीति लगायतका चर्चा गरिएको छ । प्रतिवेदनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी २०८४ सालको निर्वाचनको तयारी जुटन पनि आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,-‘आगामी २०८४ सालको निर्वाचनलाई मुख्य केन्द्रमा राखेर पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा निर्माण गर्नका लागि आह्वान गरिएको छ । यो भनेको नेकपा एमालेको नेतृत्वमा एउटा सिंगल मेजरिटी ल्याउने गरी पार्टी काम परिचालित गर्ने गरी काम गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभएको छ । पार्टीलाई एकतावद्ध र सुढृढ बनाएर लैजानुपर्नेमा जोड दिइएको छ । मुलुकलाई समृद्ध बनाउन पार्टी निर्माणमा जोड दिइएको छ ।’
यसपछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेकाे पनि प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । एमालेले शुक्रबार महासचिव शंकर पोखरेलको सांगठानिक प्रस्ताव निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगको प्रतिवेदन पनि पेश हुने एमालेले जनाएको छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार शनिबारदेखि साेही प्रतिवदेनमाथि ९ वटा समूह बनाएर छलफल हुने भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्