२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


एमालेको दाेस्राे विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश

पूर्वराष्ट्रपति भण्डारी पक्षको फरक प्रतिवेदन वाचन मात्रै गर्न दिइने

390
Shares

काठमाडौं । नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे राजनीतिक प्रतिवेदन पेश गरिएकाे छ ।

उहाँले शुक्रबार उद्घाटन गरेको महाधिवेशनको दोस्रो सत्रमा ओलीको तर्फबाट उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस पार्टीबाट गणतन्त्र लगायतका उपलब्धिको रक्षा हुन नसक्ने जिकिर गरिएको छ ।

नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै प्रतिवेदनमा समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्य गर्दै अगाडि बढाइने उल्लेख गरिएकाे छ । नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’ लाई भनिएको छ । त्यसअघि उद्घाट्न समारोहलाई अध्यक्ष ओलीले मात्रै सम्बोधन गर्नुभएको थियो । विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधी र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ जना सहभागी भएका छन् ।

विधान महाधिवेशनमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको तर्फबाट कर्ण थापालाई फरक मत बाचन मात्रै गर्न दिइने बुझिएको छ । अध्यक्ष ओली, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलका प्रतिवेदनहरुमाथि ९ वटा समूहमा छलफल गराउने तयारी भए पनि थापाले पेश गर्ने फरक प्रतिवेदनमा भने छलफल नै गर्न बन्देज लगाइएको छ ।

यहि भदाै २२ गते आइतबारसम्म विधान महाधिवेशनबाट ओलीलाई तेस्रो कार्यकाल पनि अध्यक्ष बन्ने बाटो खुलाउने भएकाे छ ।