Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


साइबर अपराध र अनलाइन ठगीकाे उजुरी थेग्नै मुस्किल ! (भिडियाे रिपाेर्ट)


0
Shares

काठमाडाैं । सरकारले मेटा कम्पनीलाई दर्ताका लागि दिएको एक हप्ताको समय सीमा बुधबार सकिएको छ ।

विशेष गरेर नेपालबाट भइरहेका साइबर अपराध सम्बन्धी घटनाको अनुसन्धानका लागि आवश्यक सूचना लिन पनि मेटाको समाजिक सञ्जाललाई नेपालमा पनि दर्ताका लागि भनिएको सरकारीले जनाएकाे हाे । नेपालमा कति छन् त्यस्ता साइबर अपराधका घटना जसमा प्रहरीलाई अनुसन्धान गर्न समेत कठिन भइरहेको छ ? कुन सामाजिक सञ्जाल दुरुपयोगबाट कस्ता अपराध भइरहेका छन् त ?

सरकारले गरेको आग्रह अनुसार मेटाले आफ्ना सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता गर्न कुनै प्रक्रिया अगाडि बढाएको छैन । सरकारले सामाजिक सञ्जालबाट भइरहेका अपराधको अनुसन्धानका लागि पनि नेपालमा फेसबुकलाई दर्ताका लागि आग्रह गरेको हो । त्यसो भए सामाजिक सञ्जाल सम्बन्धी कति घटना प्रहरीसम्म पुग्छ त ? यसको तथ्यांकगत विष्लेषण गरौं । साइबर अपराध सम्बन्धी अनुसन्धान गर्न २०७५ सालमा नेपाल प्रहरीले साइबर ब्यूरोको स्थापना गर्यो ।

ब्यूरो स्थापनाको पहिलो वर्ष फेसबुकबाट धम्की, पैसा असुली, व्यक्तिगत गोपनीयता तथा ठगी जस्ता घटनाकाबाट पीडित भएको भन्दै ३ सय ३४ जना उजुरी लिएर पुगेका थिए । सोही वर्ष यूट्यूबमा सार्वजनिक भिडियोबाट पीडित भएको भन्दै ४ वटा मात्रै उजुरी परेको थियो । ब्यूरो स्थापनाको पहिलो वर्ष साइबर सम्बन्धी करिब ३ सय ६० वटा उजुरी परेका थिए । तर सात वर्षमै यस्ता साइबरसँग जोडिएका अपराध बढेर पीडितहरुको उजुरी संख्या १० हजार भन्दा बढी पुगेको छ ।

गत आर्थिक वर्षमा मात्रै ब्यूरोमा फेसबुकबाट पीडित भएको भन्दै ९ हजार ८ सय २९ उजुरी पुगेको थियो । जसमा अधिकांश चरित्र हत्या, अनलाईन सामान खरिदका लागि आएका विज्ञापन तथा ठगीमा पर्नेहरु छन्। स्थापनाको पहिलो वर्ष यूट्यूब सम्बन्धी ४ वटा मात्रै उजुरी लिएको ब्यूरोमा अहिले एक वर्षमा ८६ पीडितहरु पुगेका थिए । इन्स्टाग्रामबाट पनि पीडित भएर ११ सय १५ उजुरी प्रहरी सम्म पुगेका थिए । यहि १ वर्षमा टिकटक दुरुपयोग गरेर ठगी गर्ने र व्यक्तिको चरित्र हत्या सम्मका घटनामा जोडिएको ३ हजार ८६ उजुरी लिएर साइबर ब्यूरो पुगेका प्रहरीको तथ्यांक छ ।

बोनस दिने भन्दै हुने ठगी , चिठ्ठा परेको र उक्त चिठ्ठा लिन कर बुझाउनु पर्ने भन्दै ठगी गर्ने समुहको प्रलोभनमा परेर आफ्नो मोबाइल बैंकिङबाट पैसा डुबाउने ४ सय ५० जना प्रहरीसमक्ष पुगेका छन । नक्कली अडियोबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले पनि पीडित हुनुभएको छ । वाग्ले आफ्नो नक्कली अडियो बनाएको भन्दै साइबर ब्यूरोमै उजुरी दिन पुग्नुभएकाे थियाे । सामाजिक सञ्जालको प्रयोग गर्दा सतर्कता अपनाउन नसक्दा शिक्षित व्यक्तिहरु आफैं पीडित भएका छन् ।

कतिपय पीडकहरु भने प्रहरी हिरासतमा समेत पुगेका छन् । साइबर ब्यूरोमा मात्रै १ वर्षमा १८ हजार बढी उजुरी परेको छ ।