१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


शिक्षक महासंघले एमाले माहासचिव पोखरेललाई ध्यानाकर्षण पत्र बुझायो


351
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ ।

आन्दोलनरत महासंघले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबार एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको हो । महासंघले धर्नासँगै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पूर्ण रुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिनका लागि शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका हुन् ।

शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थित गर्न तयार गरिएको शिक्षा सम्बन्धी विधेयकमा शिक्षकहरूको मुद्दा समावेश गर्न एमालेले सहजीकरण गरेको बताउनुभयो। यसअघि शिक्षक र सरकारबीच भएको सहमति कार्यान्वयनप्रति एमाले प्रतिबद्ध रहेको समेत उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले सरकारसँग भएको सहमतिहरू कार्यान्वयन गर्न छुटेको भए राष्ट्रिय सभाका माध्यमबाट भए पनि ती विषयहरूलाई समावेश गर्न पहल गर्ने आश्वासन समेत दिनुभयो । त्यस्तै, महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेका कारण पुनः आन्दोलन बाध्य भएको बताउनुभयो ।

प्रतिनिधि सभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका अधिकांश विषयहरू अझै पनि सम्बोधन हुन नसकेको उहाँको भनाइ छ ।