१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


कुशल छायांकार कार्कीले पोखरेली मसिनो नामक चलचित्र निर्माण गर्दै


312
Shares

काठमाडौं । कुशल छायांकार शैलेन्द्रध्वज कार्कीले पोखरेली मसिनो नामक चलचित्र निर्माण गर्ने भएका छन्।

ललितपुरको बंगलामुखी मन्दिरमा सोमबार विधिवत रुपमा पूजा आजासहित चलचित्रको शुभमुहूर्त सम्पन्न गरिएको हाे। कार्कीले थुप्रै हिट र सुपरहिट चलचित्रलाई विशेष छायांकन कलामार्फत सफल बनाइसकेका छन् । कार्कीले अब आफ्नै डेब्यू निर्देशनमा पोखरेली चलचित्र निर्माण गर्न लागेको बताएका हुन् । बाबु–छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा बन्ने चलचित्र कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीको संयुक्त निर्देशनमा बन्ने भएको हो। निर्माण कार्य भने कार्कीले आफैं गर्ने भएका छन्।

कार्कीले चामलको लोकप्रिय प्रजाति मनसरापछि चामलकै अर्को प्रजातिका नाममा पोखरेली मसिनो शीर्षकमा सोही चलचित्र बनाउन लागेका हुन्। चलचित्रमा गिरीको लेखन र शैलेन्द्र–शान्तिको पटकथा रहने भएको छ । शुभमुहूर्त कार्यक्रममा निर्माता-निर्देशक दिपेन्द्र गौचन, कलाकार टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी र उपेन्द्र सुब्बा लगायतको सहभागिता रहेको थियो। सुटिङका लागि मंगलबार पोखरा पुगेर बुधबारदेखि नै छायांकनको काम शुरु गरिने भएको छ । चलचित्र छायांकनका लागि ३० दिनको कार्यतालिका तय गरिएको हो ।

चलचित्रमा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी र हिउँवाला गौतम लगायतका कलाकारले अभिनय गर्ने भएका छन्। आगामी वर्षको विजय दशमीलाई लक्षित गरेर सार्वजनिक गरिने यस चलचित्रमा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको डिओपी र निमेष श्रेष्ठको सम्पादन रहने भएको हो ।

कार्कीले चलचित्र करिब ३ करोड रुपैयाँको लगानीमा निर्माण गर्ने बताएका छन् ।